विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयरमा समीक्षा बाँस्कोटालाई उम्मेद्वार बनाउने भएको छ । उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेद्वार बनाउने निर्णय भएको विवेकशील साझा पार्टीले जनाएको छ ।
केन्द्रीय कार्य सम्पादन समितिले शुक्रबार बसेको बैठकले बागमती प्रदेशकी पूर्वसंयोजक एवम् केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य बाँस्कोटालाई मेयरको उम्मेद्वार बनाउने निर्णय गरेको हो ।
३८ वर्षीया बाँस्कोटा २०७४ को प्रदेश सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ ‘क’ बाट उम्मेद्वार बनेकी थिइन् । त्यतिबेला तेश्रो भएकी उनले ४ हजार ३४३ मत पाएकी थिइन् ।
काठमाडौं स्कुल अफ लबाट कानून विषयमा स्नातक गरेकी उनले अमेरिका गएर कानूनमा नै मास्टर्स गरेकी थिइन् । पढाई सकाएर स्वदेश फर्केकी बाँस्कोटा राजनीतिसँग सँगै चियाको बजारीकरणको काम पनि गर्छिन ।बाँस्कोटा र ६२ वर्षीया तुलाधरले संयुक्त घोषणापत्र छिट्टै सार्वजनिक गर्ने विवेकशील साझा पार्टीले जनाएको छ ।
को हुन मेयरकी उमेदवार समिक्षा बास्कोटा ?-समिक्षा बास्कोटा विवेकशील साझा पार्टी, वागमती प्रदेशकी पूर्व संयोजक तथा हाल पार्टीको केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुन्। ३८ वर्षीय बास्कोटाले काठमाडौँ स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमैं स्नातकोत्तर गरेकी छिन्। उनी गएको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभाको उमेदवार समेत बनेकी थिइन्। २७ प्रतिशत मत ल्याएर उनले तेस्रो स्थान हासिल गरेकी थिइन्।
को हुन उपमेयरकी उमेदवार कीर्ति तुलाधर ?-कीर्ति तुलाधर विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य हुन्। उनी नेपाल जेसीजको आजसम्मका तीनजना महिला राष्ट्रिय अध्यक्ष मध्येकी एक हुन्। उनी अन्तर्राष्ट्रिय जेसीजको पनि दक्षिण एशियाबाटै पहिलो महिला उपाध्यक्ष हुन्। शिक्षा विषयमा स्नातकोत्तर गरेकी ६२ वर्षीय तुलाधर हाल विभिन्न संघ-संगठनको नेतृत्वदायी भूमिकामा छिन्।
दुबै उमेदवारले आफ्नो संयुक्त घोषणापत्र छिटै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नेछन्। घोषणापत्र मूलत: ७ वटा बुँदाहरूमा केन्द्रीत हुनेछ: १) भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवाप्रवाह २) सुलभ, व्यवस्थित, विद्युतीय यातायात ३) नेवा: कला-संस्कृतिको सम्वर्द्धन र पुनर्जागरण (renaissance) ४) खुला क्षेत्रको संरक्षण र विस्तार ५) नदी-नालाको सफाई र पुनर्स्थापना ६) सफा र व्यवस्थित काठमाडौँ, र, ७) गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा।