विक्रम सम्बत् इण्डियाको कि नेपालको !

समाचार

विक्रम संवतलाई वि. स. बाट विष बनाउने प्रपञ्च चल्दैछ। इसाईहरूको संवत जिससको जन्म संगै तयार पारिएको इस्वी संवतलाई नेपालमा लाद्ने षड्यन्त्र चल्दैछ। हरेक वर्ष नेपाल राष्ट्रका कट्टर विरोधीहरु नेपाल सिध्याउने आफ्नो लक्ष अझै पुरा नभएकाले, आफ्ना विदेशी मालिक(आका) हरु सामु नेपाली संस्कृति, पहिचान र प्राचिनता विरुद्ध हमला गरेर बफादारीको सगुन टक्र्याउँछन्। कहिले राष्ट्रिय पोशाक खारेज हुञ्छ, त कहिले त्यस्तै पात्रको श्रीमतिबाट नेपाल राष्ट्रलाई खारेज गरौ भन्ने वाक्य उजागर हुञ्छ, त कहिले उनीहरुद्वारा सामूहिक रूपमा, “विक्रम संवत हटाएर इस्वी संवत लागु गरौँ “। भन्ने अभिव्यक्ति आउँछ। इण्डो-पश्चिमाले फालेको हड्डीमा कुर्लने, देश टुक्राउने, राष्ट्र विघटन गर्ने झुण्डहरु, भ्रमलाई सत्यको रुपमा स्थापित गर्न लागिपरेको देखिञ्छ। अर्का राष्ट्र बिरोधि तत्त्व समाज भाँड्ने, हिंशा फैलाउने, जात जाति लडाउने र गोरु जुधाई जस्तो रमिता हेर्ने उद्देश्य सहित विदेशी मालिकले दिएको आदेश बमोजिम कहिले एकता दिवस त कहिले दशैं-तिहार त कहिले नयाँ वर्षको उपलक्षमा आफ्नो वफादारी झल्काउँछन्।

विक्रमादित्य नाम गरेको राजा इण्डिया मात्र होइन नेपालमा पनि भएको कुरा पुष्टि भइसकेको छ। जस्तै राम नाम गरेको माञ्छे धेरै ठाउँमा भेटिञ्छ, त्यस्तै भनेर बुझ्दा हुञ्छ। अहिले त इसाईकरणले गर्दा डेविड, थोमस आदि नाम पनि संसारको धेरै देशमा छन्। त्यस्तै विक्रमादित्य नाम गरेका राजा उज्जैनमा मात्र होइन नेपालमण्डलमा पनि रहेको तथ्य खुल्न आएको छ। उज्जैनका विक्रमादित्यको ठ्याक्कै कुन समयमा राजा थिए भन्ने कुराको अझै पनि यकीन भने हुन सकेको छैन। विभिन्न ईतिहासकार अनुसार उज्जैनका विक्रमादित्यको समय बारे फरक फरक मत प्रकट भएका छन्। चन्द्रगुप्त द्वितीय नै उज्जैन्का विक्रमादित्य हुन् र उनको जीवन सन् ३८० देखि ४१५ रहेको कुरा इन्साइक्लोपेडियामा उल्लेख छ। विक्रम संवत र सन् प्रणालीमा ५७ वर्ष मात्र फरक छ भने कसरी सन् ३१५मा जन्मिएका विक्रमादित्यबाट हालको विक्रम संवत सुरु भयो भनेर दावी गर्ने ? यसबाट ती तप्काले ईतिहासको ज्ञान बिना, अध्ययन गर्न नरुचाउने समाजमा मनलागी बोलेर भ्रम छरेको हो भन्ने कुरा पुष्टि हुञ्छ। अझ उखानकै सहारा लिँदा लाटो देशमा गाँडो तन्नेरी भने जस्तो भएको छ।

अझ सटिक रहेर भन्नु पर्दा विक्रम संवतको काल गणना वैदिक पद्दतिमा आधारित छ । विक्रम संवतका सारा महिना एवं दिनहरु वैदिक ज्योतिष कालगणना अनुसार छन्। यो शैलीले वर्ष गनिने परम्परा वैदिक काल देखि नै रही आएको हो भन्ने कुरा यसले पुष्टि गर्छ। तर विक्रम संवत गन्ने प्रचलन अनुसार २०७९ भने नेपालकै राजा विक्रमादित्य अनुसार सुरु भएको हो। वैदिक पद्दतिको लेखन पनि यहि नेपाल भूमिमा वेद व्यास(कृष्ण द्वैपायन)संग जोडिञ्छ। र ज्योतिषको पहिलो लेखन भृगु संहितालाई मानेमा, त्यो पनि नेपालमा नै लेखिएको हो। ज्योतिष पराशरको आधार लिएमा पनि त्यो नेपालकै देन हो।

विक्रम संवत नेपाली माटो मै उत्पन्न भएको संवत हो।

काठमाडौँको बत्तीसपुतलीमा गरिएको पुरातात्विक अध्ययन अनुसार त्यँहा विक्रमादित्य सम्बन्धि अभिलेख फेला परेको छ। यो नै विक्रमआदित्य नाम गरेको राजा नेपालमा रहेको कुराको सबुत बन्न सक्छ। हुन त विक्रम आदित्य एक पदवी; श्री १००८ भने जस्तै, मौसुफ, हाङ्, भने जस्तै पनि होकी भन्ने तर्क पनि आएका छन्। शब्दको विग्रह गर्दा विक्रम भनेको प्रतापी/कर्मरत हुञ्छ, आदित्य भनेको सुर्य हुञ्छ। सुर्य जस्तै प्रतापी/कर्मरत भनेर राजा महाराजालाई गरिएको सम्मान, उपादी पनि हुन सक्छ। तै पनि बत्तीसपुतलीमा फेला परेको अभिलेखले विक्रमादित्य नेपालकै राजा भन्न सकिञ्छ। इतिहासकार दिनेशराज पन्तले साँखुका राजा नै पछि विक्रमादित्य नामले परिचित भै बत्तीसपुतली बाट राज्य चलाएको कुरा उल्लेख गर्नु भएको छ।

नेपालको ईतिहासविद, भाषाविद, पुरातात्विकविद, राष्ट्रगुरु योगी नरहरिनाथले नेपालको नेपाल सापेक्ष ईतिहास संकलन, लेखन, खोज अनुसन्धानमा आफ्नो सम्पूर्ण जीवन अर्पण गर्नु भयो। योगीजीले समेत “श्री वीर पालःनृपतिःततः अभूत तस्मात अभूत विक्रमपाल भूपः” भन्ने स्तुति उल्लेख गर्दै देवमाला वंशावलीमा कुनै चक्रवर्ती राजा विक्रमादित्यको बत्तीसपुतली राम मन्दिर भएको ठाउँमा सिंहासन भेटिएको र त्यो सिंहासनमा बत्तीसवटा पुतली थिए र त्यही भेटिएको स्थानलाई नै आज बत्तिसपुतली भनिएको हो भनेर उल्लेख गर्नु भएको छ। यी विक्रमादित्य नै लिच्छवि राजा भूमीवर्मा भएको र यिनको राजधानी विशालनगरमा भएको एतिहाँसिक तथ्य छ। त्यस्तै भाषा वंशावलीले विक्रमादित्य राजाले बज्रयोगिनीवाट पारसमणिसहित आशिर्वाद प्राप्त गरी नारायणहिटी स्थापित गरेको उल्लेख दीर्घराज प्रसाईंले “विक्रम सम्बतको इतिहास” मा स्पष्ट पार्नु भएको छ। ईतिहास शिरोमणि बाबुराम आचार्यले लेख्नु भएको छ, जुन समय ई.पू. ५८ वर्षमा यो संवत् उठान भएको थियो । त्यसबेला भारतको उज्जयनीमा राजा विक्रमादित्यको अस्तित्व नदेखिएको हुदा र उज्जयनीमा उत्खनन् हुँदा पनि त्यस समयमा विक्रमादित्य भएको चिन्ह नभेटिएको हुदा विक्रम संवत् हिमवत्खण्ड नेपालको आदि र मौलिक संवत् भएको पुष्टि हुञ्छ। यो सम्बत् नेपालको मौलिक सम्बत् हो र यसले कहिल्यै कुनै पनि प्रकारको औपनिवेसिक प्रभाव भोग्नु परेन। त्यसैले विक्रम संवत् नेपालको गौरवमय पहिचान हो।-(प्रवीण अधिकारी)

इण्डियाले नेपालको नेपाल सापेक्ष ईतिहास नामेट गर्न धेरै षड्यन्त्र गरि सकेको छ। योगीजीले संकलन गरेको सबै ऐतिहासिक दस्तावेजमा, इण्डियाले डकैत गरेको सबै सांस्कृतिक, धार्मिक, तिर्थस्थलको पोल खुल्ने भएकाले, ती सबै जलाउने, पानीले गलाउने काम भए। विक्रमादित्य पनि उज्जैनको हो भनेर अर्को इण्डियन डकैत चल्दै छ भने, इण्डो-पश्चिमा दलालहरु त्यसमा जोडतोडले परिचालित छन्।

नेपाली राजा विक्रमादित्यको पालाबाट विक्रमसंवत् सुरुभएको भन्ने आधारहरु नेपालका विज्ञहरुले पुष्टि गरिसकेका छन्। तैपनि नेपालबाट नेपालको आफ्नै नेपालीपन, अद्वितीय(युनिक) पहिचानमा किन बारम्बार धावा बोल्दै छन् विदेशीका मतियारहरु ? अहिले लगभग सारा संसारका देशमा भन्दा आफुमा पृथकता देखाएर आफ्नो अलग नाम/पहिचान बनाउने जमाना छ। नेपाललाई आफ्नो मौलिक पहिचान दिने, बनाउन सक्ने विक्रम संवतलाई खारेज गर्न बिदेशी संस्कारका हिमायतीहरु लागि परेका छन्। सबै नेपाली समयमा सतर्क रहन जरूरी छ।

सम्पूर्ण नेपालीमा आग्रह-विक्रमसंवत् नेपालकै हो। येलेसंवत(यलम्बर) पनि नेपालको हो। शंखधर साख्वा: बाट चलिआएको नेपाल संवत पनि नेपालको हो। नेपालकै बौद्ध संवत पनि नेपालकै हो। हिमाली/पहाडी भूभागमा मनाउने सोनाम ल्होसार ग्याल्पो ल्होसार पनि नेपालकै हो। विक्रमसंवत् प्रचलनमा रही आएको छ। यसलाई राष्ट्रिय क्यालेन्डर(पात्र)मा धेरै अघि बाट नै मानि आएकाले यसको निरन्तरता नै उचित होला। तर हरेक स्थानीय तहमा आफ्नो संस्कृतिको संवतहरु पनि प्रचलनमा ल्याउन जरुरी छ। हरेक वडा नगरपालिकामा आफ्नो स्थानीय वाहुल्यता अनुसार नेपाली बाहेक त्यहिको अर्को भाषा एवं संवतलाई पनि लेटरहेड(पत्रशीर्ष)मा लेख्ने गरौँ। सरकारी अभिलेखहरु नेपाली लगायत स्थानीय बाहुल्यता रहेको भाषामा पनि सम्प्रेषण गरौँ। झगडा फैलाउने मात्र काम गर्ने विभिन्न जातका, संस्कृतिका नाममा खुलेको संगठनले आफ्नो संस्कार अनुसारको महिना, दिन, गतेलाई अभिनिर्माण गरि पात्र प्रकाशन गर्ने गरौँ। सर्वैकत्त्व दर्शनले कसैको पनि अस्तित्व नामेट पार्न हुन्न भन्ने कुरालाई जोड दिञ्छ र हामी नेपालीको रगतमा सर्वैकत्त्व बहञ्छ।

नव वर्ष

ऋतु अनुसार पनि अहिलेको मौसम साह्रै राम्रो हुञ्छ। प्रकृतिले पनि वर्षको चक्र अहिले नै परिवर्तन गर्छ। यसको साक्षी हरियो पालुवा, फुल, पुतली, चरा चुरुंगीको गीत हुन्। नेवाः समुदायमा पनि बिस्काः जात्राले यहि कुरा बोकेको छ। नेपाल सापेक्ष सोध अनुसन्धानका विशिष्ट व्यक्तित्व डा पुरुषोतम लोचन श्रेष्ठका अनुसार बिस्काः जात्रामा बैसाख १ गते लिङ्गो ढालेर पुरानो/ नकारात्मकताको अन्त्य संगै नव सकारात्मक उर्जा आरम्भको कामना गरिञ्छ।

हामीले जनगणना २०७८मा निहित षड्यन्त्र भन्ने लेखमा नेपाल बचाउने हो भने नेपालको आफ्नै अद्वितीय पहिचानहरूलाई निरन्तरता दिन, संरक्षण गर्न र खोज अनुसन्धान गरेर अगाडि ल्याउन जरुरी छ भन्ने कुरा बताएका थियौँ। सबै नेपालीहरु नेपाल बचाउने यस अभियानमा स्वत:स्फूर्त रुपमा लाग्नु पर्ने आवश्यकता छ। नेपालको अद्वितीय पहिचान हरेक धर्म संस्कार, संस्कृति, भाषा, लिपि, परम्परा, पुजा, अनुष्ठान पद्दति जुन अन्यत्र कुनै पनि देशमा पाइँदैन, ती सबैलाई संरक्षण गर्दै सबैले अपनाउन सक्नुपर्छ। राष्ट्रलाई संकट पर्दा सबै नेपालीहरु एकजुट भएर नै बचाउँदै आएका पुर्खाको वैभव विरासत स्मरण गर्दै, आफ्नो शरीरमा अझै पनि त्यही पुर्खाको रगत बग्दछ, नेपाली माटोले नै यो शरीर बन्दछ भन्ने सत्य सबैमा अनुभूत होउस्। नेपालीमा सद्भाव, सहिष्णुता, प्रेम र सर्वैकत्त्वको प्रादुर्भाव होउस्।

यही सन्देशका साथ नयाँवर्ष २०७८ को सबैलाई शुभकामना छ।
नेपाल आमाको जय, जागुन् राष्ट्रिय गाथा।

Leave a Reply

Your email address will not be published.