गठबन्धनको अधिकार कसलाई ? यसो भन्छन् – महामन्त्री गगन थापा

राजनिति

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलसँग आफ्नो पार्टीले तालमेल गर्न पनि सक्ने, नगर्न पनि सक्ने निर्णय भएको बताएका छन्।

नयाँ वर्ष २०७९ को उपलक्ष्यमा शनिबार बिहान पार्टीको बूढानीलकण्ठ–१० को वडा कार्यसमितिले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा कांग्रेस महामन्त्री थापाले तालमेल गर्ने, नगर्ने दुवै अधिकार पार्टीका स्थानीय कमिटीलाई दिइएको दाबी गरेका हुन्।

‘स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसभित्र लामो छलफल गर्याैँ, अन्य दलसँग तालमेल गरेर जाने कि नजाने भन्ने सम्बन्धमा, पार्टीभित्र फरक फरक धारणाहरु थिए। केही साथीहरुको धारणा थियो– नेपाली कांग्रेस एक्लै आफ्नो तागतमा चुनाव लड्न नसक्ने होइन, हामी लड्दै पनि आएका छौं, भोलि पनि लड्छौं। तर नेपालका कम्युनिस्ट पार्टीको बीचमा चुनावी तालमेल हुने र मौका पर्दा पार्टी नै एक बनाइदिने हामीले देखिसक्यौं, त्यसैले त्यसलाई रोक्न पनि तालमेल गर्नुपर्छ भन्ने केही साथीको धारणा रह्यो’, थापाले भने ‘मलगायत केही साथीको धारणा– बरु केही समय क्षति बेहोर्नुपरे पनि बेहोरौंला तर नेपाली कांग्रेस पार्टीले एक्लै लड्नुपर्छ भन्ने रह्यो।

यो दुइटा धारणामा लामो छलफल भइसकेपछि एउटा निर्णय भयो– स्थानीय तहले आफ्नो अवस्था र आवश्यकतालाई हेरेर गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने, हामीले यहाँ याद गर्नुपर्ने कुरा– गर्न सक्ने, गर्न पनि नसक्ने, गर्न पनि नसक्ने, गर्न पनि पाउने, गर्न पनि नपाउने, तर यसको निर्णय माथि पार्टी सभापतिले वा हामी माथिकाले गर्ने होइन, यसको निर्णय तल्लो कमिटीले गर्ने।’

भ्रष्टाचार नगर्ने कसम खुवाएर टिकट दिन्छौँ : लिङ्देन-पूर्वी नवलपरासी — राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफनो पार्टीबाट स्थानीय तहमा उम्मेदवार हुनेले भ्रष्टाचार नगर्ने कसम खुवाएर मात्रै टिकट दिने बताएका छन् । ‘एउटा हातमा राजीनामाको कागज लिन्छौँ र अर्को हातमा टिकट दिन्छौ भ्रष्ट्राचार नगर्ने प्रतिबद्धता जनाउनै पर्छ,’ उनले भने ।

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर–७ शिवपुरगढीमा शनिवार बिहान आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भ्रष्टाचारले देश बर्बाद भएको बताए । राप्रपाले भ्रष्टाचार शून्यमा झार्ने र जनताका पक्षमा काम गर्ने लिङ्देनको भनाइ थियो ।

निर्वाचनमा असल मान्छे र राम्रो पार्टीलाई विजयी नगराएसम्म जनताले दुःख पाइरहने उनले बताए । ‘निर्वाचन त्यस्तो अवसर हो जहाँ जनताले साँच्चै काम गर्ने मान्छे छान्ने अवसर पाउँछन्,’ उनले भने, ‘असल नीति भएको पार्टी र नेतालाई विजयी गराए जनतालाई सुख हुने र पैसाको प्रलोभनमा परे वर्षौंसम्म पछुताउन पर्ने बताए ।’राप्रपाले जिते कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने पनि लिङ्देनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.