केजीएफ २ ले नेपाली फिल्मलाई टाट पल्टाउँदै सबै टिकट ‘सोल्ड आउट’ : फिल्म जुधाउनु नै ‘मुर्खता’

मनोरंजन

वैशाख १ गते अनमोल केसी र सुहाना थापा अभिनीत फिल्म ‘ए मेरो हजुर ४’ रिलिज हुँदैछ। सोही दिन रिलिज हुँदैछ दक्षिण भारतीय फिल्म ‘केजीएफ–च्यापटर २’। दुवै फिल्म नयाँ वर्षको अवसरमा रिलिज हुँदैछ। अर्थात अप्रिल १४ मा तमिल नयाँ वर्ष ‘पुथान्डु’ को अवसर पारेर रिलिज हुँदैछ।

रिलिज पूर्व नै नेपाली फिल्मलाई फिल्म ‘केजीएफ–च्यापटर २’ ले टाट पल्टाइदिने निश्चित देखिएको छ । फिल्म ‘केजीएफ–च्यापटर २’ सबै टिकट प्रर्दशन पूर्व नै ‘सोल्ड आउट’ भएका छन् । ‘ए मेरो हजुर ४’ का लागि दर्शकको कुनै वास्ता नै छैन ।

फिल्म रिलिज हुनु एक हप्ता अगाडि देखि नै यी दुवै फिल्मको अग्रिम टिकटहरू खुलिसकेका थिए। बुकिङको तथ्यांक हेर्ने हो भने नेपाली थिएटरमा ए मेरो हजुर ४ बहुप्रतिक्षित भनिएको फिल्म केजीएफ २ को मारमा परेको छ। केजीएफ २ ले नेपाली सिनेमाहलमा उच्च शो पाएको छ भने ए मेरो हजुर ४ ले न्यून।

केजीएफ २ ले रिलिज अघि नै बक्स अफिसमा आक्रामक बुकिङ गरिरहेको छ। ‘केजीएफ २’ को टिकट ‘सोल्ड आउट’ भइसकेको हल संचालकहरू बताउँछन्। तर, झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ४’ कमजोर देखिएको छ। बागदरबारस्थित सीटीसी मलमा रहेको ‘सीडीसी सिनेमाजले गत शुक्रबारदेखि अग्रिम टिकट खुला गरेको थियो। केजीएफ २ का रिलिजको पहिलो दिन बिहीबारदेखि आइतबारसम्मका शोहरू हाउसफुल रहेको हल व्यवस्थापक जीवन शाक्यले पुष्टि गरे ।

फिल्म केजीएफ २ को आइतबारसम्मका शोहरू हाउसफुल छन्। पहिलो दिन ‘केजीएफ २’ लाई ८ शो र ‘ए मेरो हजुर ४’ लाई २ शो दिएका छौं। तर नेपाली फिल्मको भने टिकट नै खासै बिक्री भएको छैन, शाक्यले बताए । नेपाली फिल्म ‘ए मेरो हजुर ४’ मा शनिबारदेखि एड्भान्स बुकिङ खुला गरिएको थियो। नेपाली फिल्मका लागि खासै अनलाइन टिकट काट्ने ट्रेन्ड छैन । ‘नेपाली फिल्ममा त्यति एड्भान्स टिकट काट्ने ट्रेन्ड छैन। दर्शक सिधै काउन्टरमा पुगेर काट्नुहुन्छ। फिल्मको कन्टेन्ट राम्रो भएमा अवश्य पिकअप गर्ने आश नेपाली फिल्ममापनि हल सञ्चालकले गरेका छन् ।

फिल्म जुधाउनु नै ‘मुर्खता’

यश अभिनित फिल्म ‘केजीएफ २’ सन् २०१८ मा रिलिज भएको ‘केजीएफ’ को सिक्वेल हो। बक्स अफिसमा सफल मानिएको पहिलो भागका कारण दर्शकहरू यस फिल्मको सिक्वेलको तीव्र प्रतिक्षामा छन्। भारतमा मात्रै होइन नेपालमा पनि केजीएफ २ को राम्रै चर्चा छ। तर एकैदिन ए मेरो हजुर ४ पनि रिलिज हुँदा नेपाली फिल्मको अवस्था अग्रिम टिकट बुकिङबाट नै प्रष्ट भएको छ।

हल संचालकहरुले ‘ए मेरो हजुर ४’ टिमलाई ‘केजीएफ २’ सँग नजुधाउन पटकपटक आग्रह गरेका थिए। उनीहरु यी दुई फिल्म जुधाउनु मुर्खतापूर्ण कार्य रहेको बताउँछन्। हरेक पटक मिटिङ हुँदा सबैले बारम्बार ‘ए मेरो हजुर ४’ को टिमलाई मिति सार्न सल्लाह दिएका थिए । ‘चार–पाँच पटक मिटिङ हुँदा तपाईँहरू पछाडि सर्नु भनेर भनेका छौँ। तर उहाँहरूले मान्नु भएन्। एकहप्ता पछाडि मात्रै सारेको भए यस फिल्मले तीन शोको साटो ८ वटा शो पाउने थियो। तर उहाँहरूले मान्नु नै भएन्। केजीएफ २ भनेको विशभरका दर्शकले हेर्न खोज्नु भएको फिल्म हो। केजीएफ २ को मारमा पर्छु भनेर एकपटक सोच्नु पर्ने थियो,’ एक हल सञ्चालकले बताए ।

Leave a Reply

Your email address will not be published.