२०४६ साल चैत्र २६ गते राति तत्कालिन राजा बीरेन्द्रले बहुदलीय ब्यबस्था पुन: स्थापना भएको घोषणा गरेका थिए । दलविहीन पंचायतको अन्त्य गर्दै बहुदलीय ब्यबस्थाको घोषणा भएको पनि ३२ बर्ष पुरा भएको छ ।
तर यो ३२ बर्षमा देश र जनताको लागि भन्दा नेताहरुकै लागि मात्रै परिवर्तन भएको आभाष हुन्छ । यो ३२ बर्षमा ठुल ठुला घटनाहरु घटे जस्तै माओबादी जनयुद्ध, राजदरबार हत्या काण्ड , राजतन्त्रको अन्त्य हुदै गणतन्त्र स्थापना भएको छ । तथापी जनता र देशको स्थिति हिजो भन्दा आज झन् नाजुक बन्दै गएको छ ।
यसैमा केन्द्रीत भएर चर्चित गायक रामप्रसाद खानाले आफ्नो फेसबुकमार्फत यसरी आक्रोश र असन्तुष्टि पोखेका छन् :-
बिरे चोर – देश छोड, पम्फादेवी ठकुरानी – स्वीजर्ल्यान्डको पैसा फिर्ता ले, पञ्चायती व्यवस्था – मुर्दावाद, दलीय प्रतिबन्ध – फुकुवा गर, प्रजातन्त्र – जिन्दाबाद, राजतन्त्र – मुर्दावाद, मरीचमान लाई – फाँसी दे, काँग्रेस, बाम मोर्चा – जिन्दाबाद, जनताको जित – हुन्छ हुन्छ – यी र यस्तै नारा लगाउँथ्यौँ हामीले २०४६ सालमा ।
युवा थियौँ, तातो रगत थियो, नेता भनाउँदाहरूले हामी जस्ता युवाहरूलाई बन्द कोठामा राखेर प्रशिक्षण यसरी दिन्थे मानौँ देशको सबै भन्दा ठुलो शत्रु राजतन्त्र हो, राजा वीरेन्द्र हो, पञ्चायती व्यवस्था हो, त्यो बेलाका हामी अन्धभक्त हरू नेताको लह लहैमा लागेर माथि भने जस्तै नारा लगाउँदै आन्दोलनमा जाने हाम्रो दिनचर्या थियो ।
यत्तिकैमा चैत २६ गते राजा वीरेन्द्रले सात बाम मोर्चा र नेपाली कङ्ग्रेसका नेताहरुलाई बोलाएर भने तपाईँहरूको माग अनुसार नै दल माथिको प्रतिबन्ध फुकुवा लगायतका माग हामी पुरा गर्छौ। तपाईँहरू नै चलाउनुस् देश तर देश र जनतालाई केन्द्रमा राखेर शासन गर्नुहोला । चैत २७, २०४६ गतेको यो गोरखा पत्र हेर्नुस् राजाले सबै बुझाइदिए ।
२०४६ देखी आज २०७९ आउन ३ दिन बाँकी हुँदा सम्म अर्थात् ३३ वर्ष हुन लाग्दा पनि देश र जनता को के हबिगत छ भनिरहनु परेन । भोगिरहनु भएको छ भनिरहनु परेन ।
२०४६ को आन्दोलनमा उग्र नारा लगाउने, आन्दोलनमा होमिने एक जना युवा म अहिले पूर्ण परिपक्व भएर सोच्दै छु, ओहो हामी कति अन्धा बनेछौँ हगी ! हामीबाट त ठुलो पाप पो भएछ हगी ! के हामीले देशको यही हबिगत देख्न, बनाउनलाई आन्दोलन गरेका थियौँ त ? पश्चात्ताप लाग्छ । को रहेछ बिदेशी बैंकमा पैसा र सम्पत्ती थुपार्ने ? के रहेछ राज दरवार र बीरेन्द्र राजाको अवस्था ? के बिगार गरेका रहेछन बीरेन्द्र र एश्वर्यले ?
धेरै कुराको उत्तर थाहा पाउन दिनदिनै भोगेका भोगाइ मात्र होइन जानुस नारायणहिटी राजदरवार अहिले त यसलाई कुन्नि बतासेहरुको मागी खाने भाँडो, कथित सङ्रालय बनाएका छन क्यारे, हेर्नुस् छर्लङ्ग देखिन्छ । तपाईंहरुलाई कस्तो लाग्छ कुन्नि !