मेलम्चीको पानी आइतबारदेखि घरघरमा

समाचार

काठमाडौँ । गत चैत २९ गते मङ्गलबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा हालिएको पानी सोमबार राति पौने १० बजे सुन्दरीजल आइपुगेको छ ।

सुरुङको पिँधमा आइपुगेको पानीले उचाइ लिन तीनदेखि चार दिन लाग्ने मेलम्ची आयोजनाको परामर्शदाता कम्पनी इप्तिसाका इञ्जीनियर विवेक खनालले जानकारी दिए । पानी आएपछि राति वासिङ गर्ने च्यानलमा पानी देखिएको थियो । च्यानलमा पानी देखिएपछि मेलम्चीको पानी सुन्दरीजल आइपुगेको पुष्टि भएको हो ।

गत वर्ष असार १ गतेदेखि नै पानी बन्द गरिएको सुरुङको फोहर पखालेर पानी अहिले बागमतीमा छोडिएको छ । मेलम्चीको पानी छोडेपछि बागमतीको बहाव केही बढेको देखिन्छ । अहिले बागमती धमिलो पानी बढेको स्थानीयवासी रामप्रसाद पुडासैनीले बताए । गत वर्ष सुरुङमा पानी बन्द गरेकै राति मेलम्ची खोलाको मुहान क्षेत्रमा लेदोसहितको बाढी आएर मुहान क्षेत्रमा निर्माण गरिएको खानेपानीको संरचनामा क्षति पुगेको थियो । क्षति भएको संरचना पुनर्निर्माण गरी गत चैतमा सुरुङमा पानी हालिएको हो ।

मेलम्चीको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा हाल्न सुरुङभित्र पानीले उचाइ लिनुपर्ने उनले बताए । मेलम्चीको पानी सुन्दरीजल आएसँगै आज बिहान खानेपानी मन्त्री उमाकान्त चौधरीले अवलोकन गर्ने कार्यक्रम रहेको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।

मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक वासुदेव पौड्यालले सुरुङ मार्ग हुँदै प्रशोधन केन्द्रमा जम्मा भएको पानी परीक्षणपछि आइतबारदेखि उपत्यकामा वितरण गरिने जानकारी दिए । ‘सुन्दरीजलदेखि मेलम्चीको अम्बाथानसम्मको सुरुङको तह पानीले भरिएको छ । आइतबारसम्म प्रशोधन केन्द्रमा पानी भरिएसँगै वितरण हुन्छ,’ उनले भने ।

गत असार १ र साउन १७ गते सिन्धुपाल्चोकस्थित मेलम्ची खोलामा गएको पहिरोसँगै आएको बाढीका कारण आयोजना क्षतिग्रस्त बनेको थियो । गत माघ १४ गतेदेखि आयोजना सफाइ तथा मर्मतको काम सुरु भएको थियो । खानेपानी मन्त्री चौधरीले मुहानबाट गत चैत २९ गते मुहानबाट पानी पुनः पथान्तरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published.