पालिकालाई मासिक १ लाख ८० हजारमा आफ्नै गाडी भाडामा दिएर आफैं चढ्ने गाउँपालिकाका अध्यक्ष

समाचार

ललितपुरको बाग्मती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले आफ्नो निजी गाडी गाउँपालिकालाई भाडामा लिन लगाएर आफैं चढ्ने गरेको खुलासा भएको छ ।

वडा नं. ४ प्युटार बस्ने मखमली घले अध्यक्ष लोप्चनकी साली हुन् । उनैको नाम रहेको गाडी मासिक भाडा बुझाउने गरी गाउँपालिकाले सम्झौता गरेको पाइएको छ । जुन गाडी अध्यक्ष लोप्चन चढ्छन् ।

पालिकाले १ कात्तिक ०७७ देखि ०७८ असार मसान्तसम्म मासिक १ लाख ८० हजार भाडा बुझाउनेगरी सम्झौता गरेको छ ।

सम्झौतामा सवारी चालक सवारीधनीले उपलब्ध गराउनुपर्ने भनिए पनि पालिकाबाटै सवारी चालकको तलबसमेत लिइने गरेको उल्लेख छ । गाउँपालिकाले अध्यक्षले प्रयोग गर्नेगरी आर्थिक वर्ष ०७४/७५ देखि नै कोटेसन गरी लोप्चनले पत्नी सीता लोप्चनको नाममा रहेको महिन्द्र स्कारपियो फुल अप्सन फोर ह्विल गाडी भाडामा लिएका थिए ।

पत्नीको नाममा रहेका गाडी भाडामा लिएको प्रश्न उठ्न थालेपछि साली मखमली घलेको नाममा नामसारी गरी आर्थिक वर्ष ०७५÷७६ देखि हालसम्म निरन्तर भाडामा लिएर अध्यक्ष आफैं चढिरहेको राजधानी दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published.