मोदीका पछाडि लाखौँ महिला !

अन्तराष्ट्रिय

हरेक सफल पुरुषका पछाडि महिलाको हात हुन्छ भन्ने भनाइ अझै पनि प्रख्यात छ । र यसै अनुसार हालै सम्पन्न चुनावमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी, भाजपाको सफलताका पछाडि पनि लाखौँ महिलाहरु भएको विश्वास गरिन्छ ।

केही समय अगाडि गरिएको दुई अध्ययनमा फेब्रुअरी–मार्चमा सम्पन्न चुनावमा भारतीय जनता पार्टीलाई मत हाल्नमा पुरुषहरु भन्दा महिलाको सङ्ख्या धेरै रहेको पत्ता लागेको छ जसमा ब्राजिल जत्रो जनसङ्ख्या रहेको उत्तरप्रदेशलाई पनि समावेश गरिएको थियो ।

१९६२ देखि नै निर्वाचन आयोगले आम निर्वाचनमा कति मत पुरुषबाट र कति महिलाबाट भनेर छु्ट्याउन सुरु गरेको थियो जसबेला राष्ट्रिय स्तरमै अधिकांश महिलाहरुले सधैँ कंग्रेस पार्टीलाई बढी मत हाल्ने गरेका थिए । तर २०१९ मा ऐतिहासिक रुपमा पहिलोपटक भाजपा पार्टीले महिला मतदाताहरुबाट सबैभन्दा बढी मत पायो ।

यसमा आश्चर्यजनक कुरा के छ भने अन्य राजनीतिक पार्टीहरु जस्तै भाजपामा पनि दुर्लभै महिलावादी भाव पाइन्छ । यति मात्र नभएर तिनका कतिपय विश्लेषण महिलाहरुले अस्वीकार्य समेत महसुस गर्ने गरेका छन् । जस्तै कि यस पार्टीका नेताहरु धेरैपटक महिला सम्बन्धी आपत्तिजनक अभिव्यक्ति दिएकामा शिर्ष समाचार बन्ने गरेका छन् । त्यस्तै भाजपाका केही प्रदेश सरकारले बलात्कारका घटनालाई उचित रुपमा सम्बोधन नगरेकामा पनि विश्वव्यापी रुपमा आलोचित भएका छन् । यता भाजपा सरकारको विवादास्पद नागरिकता सम्बन्धी कानुनको विरुद्धमा भएका आन्दोलनहरु महिलाले नै नेतृत्व गरेका थिए ।

तर यति सबै हुँदा पनि डाटाका अनुसार धेरै भन्दा धेरै महिलाहरुले अहिले भाजपाकै लागि मत हालिरहेका छन् । यस्तोमा कसरी यो पार्टी भारतीय महिलाहरुको छनोटमा पर्यो भन्ने प्रश्न गरिएको छ ।

दिल्ली स्थित थिंकट्यांकका प्रमुख सन्जय कुमार भन्छन्, “यो सबै मोदीका कारण भएको हो । यो भनेको अचानक भाजपा महिलाहरुका लागि आकर्षक पार्टी बन्न पुगेको होइन । यसमा मोदीको भूमिका सबैभन्दा महत्वपूर्ण छ । ”

राजनीनिक विज्ञ नलिन मेहताले पनि यो विषयमा अत्याधिक खोज, अनुसन्धान र अध्ययन गरेका छन् । उनी भन्छन्, “भाजपाले १९८० देखि नै महिलाहरुमा पहुँच बढाउन उल्लेखनीय वचन दिएको थियो । त्यसबेला पार्टीमा थुप्रै शक्तिशाली र महत्वपूर्ण महिला नेतृहरु थिए । तरपनि दशकौँसम्म भाजपालाई सोचेजति महिलाहरुको समर्थन मिलेको थिएन । महिलाहरुले यसलाई पुरुष प्रधान पार्टीकै रुपमा हेर्दथे जसमा उनीहरुको कुनै चासो थिएन । ”

तर २०१९ मा आएर चाहिँ यसमा ठूलो परिवर्तन देखा परेको उनी बताउँछन् जसलाई २००७ सँग जोड्न सकिन्छ । त्यसबेला मोदीले गुजरातका लागि मुख्य मन्त्रीका रुपमा पुनः चुनाव लड्ने घोषणा गरेका थिए ।

मेहताका अनुसार त्यसैबेला पहिलोपटक मोदीले व्यापक रुपमा महिलाहरुलाई सम्मानजनक रुपमा समावेश गराए र यसले उनलाई भारतको सबैन्दा ‘अप्रत्याशित लैङ्गिक चिन्ह’ को नयाँ आकर्षण दिलायो र महिलाहरुको नजरमा उनी प्रिय बन्न पुगे ।

त्यस समय चुनावी र्यालीहरुमा मोदीले प्रायः ‘५६ इन्चको छातीका’ बारेमा उल्लेख गर्ने गर्दथे जसलाई महिलाहरुले ‘माचो म्यान’ को संज्ञा दिइरहेका थिए । मेहता भन्छन्, “हरेकचोटी उनले यसबारे बोल्दा दर्शकहरुबाट सुनिनेगरि वाहवाहीको प्रतिक्रिया आउने गर्दथ्यो विशेषगरी महिलाहरुबाट । त्यस्तै यी र्यालीहरुमा पुरुष भन्दा महिला धेरै हुन्थे । उनले त्यहाँ सबैलाई ‘म तपाईँको दाई हुँ भाइ हुँ, तपाईँको छोरा हुँ मलाई मत हाल्नु म तपाईँका चाहानाहरुको ख्याल राख्नेछु भन्ने गर्दथे । ”

यसरी २०१४ मा आम निर्वाचनमा जित हासिल गर्दासम्म उनी यो रणनीतिमा पोख्त भइसकेका थिए । त्यस वर्ष प्रधानमन्त्रीका रुपमा देशलाई पहिलोपटक सम्बोधन गर्दा उनले भ्रुणहत्याको विरुद्धमा बोलेका थिए भने बलात्कारका घटनाहरुको कडा निन्दा गरेका थिए र अभिभावकहरुलाई आफ्नो छोरालाई राम्ररी हुर्काउन सुझाव दिएका थिए ।

प्रधानमन्त्रीका रुपमा मोदी यसरी परिवर्तनका उत्प्रेरक बने जो हरेक सार्वजानिक भेला होस् या चुनावी र्याली, महिला सम्बन्धी मुद्दामा कुरा उठाउँथे । २०१४ देखि २०१९ का बीच उनका भाषणका शिर्ष पाँच विषयमा धेरैपटक महिलाहरुको मुद्दामा चर्चा गरिएको पाइन्छ ।

तर मोदी प्रतिको व्यक्तिगत आकर्षण बाहेक भाजपाले राजनीतिमा महिलाहरुको प्रतिनिधित्व पनि बढाउन खोजेको छ । जस्तै २०१९ मा यसले भारतका सबै राजनीतिक पार्टीहरु मध्येकै सबैभन्दा बढी महिला उमेदवार चयन गरेको थियो भने पूर्व सरकारहरुको तुलनामा धेरै महिला मन्त्री नियुक्त गराएको हो । त्यस्तै महिलाहरुका लागि कोटा बढाउने, ग्रामीण क्षेत्रका गरिब महिलाहरुसम्म सरकारी सेवा सुविधाको पहुँच बढाउने कार्य पनि अघि बढायो ।

यसकारण पनि भाजपाका महिला समर्थकहरु उल्लेखनीय रुपमा ग्रामीण क्षेत्रबाट र गरिबीको रेखा मुनि पर्ने मेहताले बताए ।

पछिल्लो समय पार्टीको कल्याणकारी नीतिहरुले पनि उनीहरुलाई नै लक्षित गरि सुधार ल्याइरहेको छ । मोदी सरकारकै पालामा महिलाहरुलाई बैंक अकाउन्ट खोल्न मद्दत गर्नेदेखि लाखौँ घरमा शौचालय बनाइदिने काम भयो । महिलाहरुलाई पेन्सन दिलाउन र सरकारी सेवा सुविधाको प्रत्यक्ष लाभ प्राप्त गराउन भाजपाले विभिन्न उपायहरु लगाएको पाइन्छ । मोदी सरकारका नयाँ नीतिहरु उत्कृष्ट छैनन् तर यसले अवश्य पनि महिलाहरुको जीवनमा ठूलो भिन्नता ल्यायो । यसकारण पनि धेरै महिलाहरुले अन्य विकल्पको तुलनामा भाजपालाई नै ठीक मानिरहेका छन् ।

यसैगरी मोदीलाई उनका समर्थकहरुले साधारण नागरिकका रुपमा हेर्दछन् जो सामान्य जीवन यापन गर्छन् । उनी फिट छन् र उनी देखावटी गर्दैनन् अनि उनको छविमा अहिलेसम्म कुनै दाग छैन । तर उनी ७१ वर्षका भइसके र उमेरसँगै उनका यी केही आकर्षक पक्ष हराउँदै जान सक्ने विज्ञहरु बताउँछन् ।

साथै अहिलेको बढ्दो बेरोजगारी, उच्च मुद्रास्फीति अनि इन्धनको भाउ पनि लगातार बढिरहँदा उनका समर्थकहरुलाई संयम राख्ने एक मात्र कारक धार्मिक पहिचान बनिरहेको छ । तर यदि यही मुद्दामा हिंसा नियन्त्रण बाहिर जाने हो भने चाहिँ घर चलाउने तिनै महिला उनको विरुद्धमा उभिने पक्का छ । अहिलेसम्म उनका लागि यो संवेदनशील अवस्था आइसकेको छैन तर छिटै पैदा हुन सक्ने ओशाका युनिभर्सिटीकी मिडिया प्रमुख माया मिर्चन्दानी बताउँछिन् । बीबीसीबाट

Leave a Reply

Your email address will not be published.