जेलभित्र पल शाहको दिनचर्या : मनिषाको पुस्तक पढ्दैछन्, डान्स कम्पोज पनि गर्दै

समाचार

काठमाडौं । एक नाबालिकामाथि जबर्जस्ती करणीको मुद्दामा अभिनेता पल शाह दुई महिनादेखि तनहुँ जिल्ला कारागारमा छन् ।फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरी हिरासतमा रहेका उनी अदालतले पुपक्षका लागि थुनामा राख्ने आदेश दिएपछि कारागार चलान भएका थिए । उनीविरुद्धको मुद्दा अहिले अदालतमा विचाराधीन छ ।

दमौलीस्थित कारागारमा रहेका पललाई भेट्न अहिले दिनहुँ आफन्त र फिल्मकर्मीको घुइँचो लाग्ने गरेको छ । पललाई भेट्न आइतबार दिउँसो काठमाडौंबाट केही फिल्मकर्मी र उनको मुद्दामा बयान दिएका गायक दुर्गेश थापा पनि तनहुँ कारागार पुगेका थिए । पललाई भेटेपछि सञ्चारकर्मी प्रकाश सुवेदीले अनलाइनखबरलाई उनको दिनचर्याबारे यसरी बताए :बिहान ५ बजे उठ्नुपर्ने नियम छ कारागारभित्र । सखारै उठेर हल्का कसरत हुने रहेछ । त्यसपछि ध्यान योगा गर्नुपर्ने हुँदोरहेछ ।

घण्टी लगाएको टाइमभित्रै खानुपर्ने हुँदोरहेछ । बिहान १० देखि ११ बजे बीचमा खाइसक्नुपर्ने छ । खानामा हप्तामा दुई दिन मासु दिइँदो रहेछ । भित्र रेस्टुरेन्ट पनि रहेछ । पैसा हुनेले रेस्टुरेन्टमा अर्डर दिएर खाना लिन सक्ने रहेछन् । आफ्नो खर्चमा जे मगाएर पनि खान पाइने सुविधा रहेछ ।

पललाई खानाको समस्या देखिएन । उनलाई बेलाबखत बहिनीले पनि लगिदिने गरेकी छन् । कहिलेकाहीं त्यहींभित्रको रेस्टुरेन्टमा पनि खाने गर्दा रहेछन् ।खाना र बस्नमा कुनै गुनासो छैन भन्ने पलको कुरा छ । कारागारभित्रै साथीहरु पनि धेरै भएका छन् रे । हिरो भनेर सबैले माया पनि गर्छन् रे । दिनभरिमा भेट्न धेरै माया जाने रहेछन् । भेट्न जाने स्थानीय र फिल्मकर्मीको संख्या धेरै देखियो ।

पलले अहिले कपाल काटेका छन् । लामो कपाल पालेर भित्र बस्न नपाइने रहेछ । जेल प्रशासनले नै कपाल काट्न लगाएको छ । कपाल काटेर पल केही दुब्लो देखिए पनि तौल ठीक छ । शारीरिक अवस्था ठीक देखिएको छ ।

एक नृत्य निर्देशक पनि कारागारभित्र सँगै भएकाले उनीहरु साथी भएका छन् । उनीहरु मिलेका पनि छन् । ती नृत्य निर्देशकले गीतमा डान्स कम्पोज पनि गराइरहेका रहेछन् । बाहिर आएपछि त्यो गीतलाई सुटिङ गर्ने उनीहरुको योजना रहेछ । भित्रै टेबलटेनिस खेल्न पाइने रहेछ । वातावरण पनि राम्रो रहेछ । भेट्न जाने व्यक्तिहरुलाई पनि निर्वाध भेट्न दिइँदो रहेछ ।

मनिषा कोइरालाले लेखेको पछिल्लो पुस्तक ‘हिल्ड : हाउ क्यान्सर गिभ मी अ न्यु लाइफ’ पढ्दैछन् अहिले कारागारभित्रै पल । बिग्रिएको दिनचर्यालाई कसरी नियमित गर्ने भन्ने कुरा उनले गरे । जेलभन्दा पनि आफूलाई होस्टल बसेजस्तो महसुस भएको उनले बताए ।

बाहिर हुँदा बिहानदेखि रातिसम्म काम–काम भएको र त्यो कामलाई अहिले मिस गरिरहेको उनले बताए । भित्र टेलिभिजन हेर्न पाइने रहेछ । हाम्रा टीभी कार्यक्रम र समाचार हेर्दा रहेछन् । नाम टिपाएर र लाइनमा बसेर बिहान फोन गर्ने सुविधा दिइँदोरहेछ ।

Leave a Reply

Your email address will not be published.