गाउँपालिका अध्यक्षका उम्मेदवारलाई कान समातेर उठबस गराएको भिडियो सामाजिक सञ्जालमा भाइरल (भिडियोसहित)

राजनिति

मुलुक यति बेला चुनावमा होमिएको छ । दलका नेता कार्यकार्ता भोट माग्न घर घरमा पुगेका छन् । चुनावी सरगर्मी चढिरहदा उम्मेदवारहरुको अनेकन गतिविधि सार्वजनिक भएका छन् । घर दैलोमा निस्किएका उम्मेदवारले यति बेला खुट्टा ढोगेर भोट माग्ने देखि लड्डु बाड्दै अंगालो हाल्ने लगायतका रोचक गतिविधि गरिरहेका छन् ।

चुवावकै बीचमा सुर्खेतमा भने अलि नौलो घटना सार्वजनिक भएको छ । कालिकोटको नरहरीनाथ गाउँपालिकाका अध्यक्ष धिरबहादुर विष्टलाई स्थानीय युवाले कान समातेर उठबस गराएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

निवर्तमान गाउँपालिका अध्यक्ष समेत रहेका विष्टले सरकारी गाडी दुरुपयोग गरेको र सार्वजनिक स्थलमा मदिरापान गरेको भन्दै स्थानीय युवाले माफी मगाउँदै उठबस गर्न लगाएका हुन् । विष्टसँगै मदिरा सेवनमा सहभागी नरहरीनाथ– ७ का वडाअध्यक्ष दलबहादुर विश्वकर्मालाई पनि स्थानीयले उठबस गराएका छन् । उनीहरुले उठबस गराएको भिडिओ अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएको छ ।

भिडिओमा देखिन्छ– सुर्खेतको एक होटलमा सरकारी गाडीसहित उनीहरु मदिरा सेवन गरिरहेको अवस्थामा केही युवा फेला पार्छन् । विष्टले माफी माग्छन् । र पनि उठबस गराएरै छाड्छन् ।

नरहरीनाथ गाउँपालिकाका अध्यक्ष विष्टले केहि दिनअघि अध्यक्ष पदबाट राजीनामा दिएका थिए । उनी अहिले नेकपा एसबाट गाउँपालिका अध्यक्षमा प्रतिस्पर्धा गर्दैछन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी एमालेबाट निर्वाचित भएका थिए ।

अध्यक्ष विष्टले आफूमाथि सुनियोजितरुपमा प्रहार गर्न थालिएको बताए । ‘भिडियो कहाँ खिचेका हुन् थाहा भएन, को–को हुन् भन्ने पनि म चिन्दिनँ’, उनले भने, ‘अहिले मेरो पक्षमा माहोल बन्दै गएको छ । त्यसैले सुनियोजित प्रहार भयो ।’ source-news24expres

https://news24expres.com/wp-content/uploads/2022/05/video-1651544273.mp4?_=1

Leave a Reply

Your email address will not be published.