आज रातिदेखि अन्तर्राष्ट्रिय सीमा नाका ७२ घण्टासम्मका लागि बन्द

समाचार

काठमाडौं । आज मंगलबार रातिदेखि सबै अन्तर्राष्ट्रिय सीमा नाका ७२ घण्टासम्मका लागि बन्द हुने भएका छन् ।स्थानीय तह निर्वाचन सुरक्षाका लागि सरकारले आज मध्य रातिदेखि मतदान हुने दिनसम्म सीमाबाट हुने आवागमन बन्द गर्ने निर्णय गरेको हो । मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र चुनाव प्रचार गर्न बन्देज लगाउने सरकारले निर्णय गरेको छ ।

सीमावर्ती जिल्लाका प्रशासन कार्यालयहरूलाई आज मध्यरातिदेखि सीमानाका बन्द गर्न भनिसकिएको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्रालयको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालयले सीमा नाका बन्द भएको सूचना जारी गर्नेछन् ।अन्तर्राष्ट्रिय हवाई उडानका लागि विमानस्थलसम्म पुग्ने र विदेशबाट फर्किनेहरूका लागि भने पासपोर्ट, भिसा र हवाई टिकटको आधारमा जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्मीसँग समन्वय गरेर गन्तव्यसम्म पुग्न सहजीकरण गर्ने भएको छ ।
२ लाख ६८ हजार सुरक्षाकर्मी फिल्डमा-काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि सबै सुरक्षा निकायबाट खटाइएका सुरक्षाकर्मी फिल्डमा पुगेका छन् । स्थानीय तह निर्वाचनका लागि सरकारले तीन घेरामा रहनेगरी नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी र म्यादी प्रहरी गरी २ लाख ६८ हजार सुरक्षाकर्मी खटाएको छ ।

नेपाल प्रहरीले मतदान स्थल र मतदान केन्द्रको भित्री सुरक्षासहित सबै सुरक्षा जिम्मेवारी हेर्नेछ । म्यादी प्रहरी पनि भित्री घेरामा हुनेछन् । सशस्त्र प्रहरी बल दोस्रो र नेपाली सेना तेस्रो अर्थात् बाहिरी घेरामा रहनेछन् ।

– देशभर सेनाका ८ सय ३४ अप्रेटिङ बेस,– १ सय ११ स्थानमा सशस्त्रको रिजर्भ फोर्स,– हरेक मतदान स्थलमा ३० मिनेटमा सेना पुग्नेनिर्वाचनका लागि नेपाल प्रहरीबाट ६२ हजार सुरक्षाकर्मी परिचालन भएका छन् । यस्तै, सशस्त्र प्रहरीबाट ३२ हजार, नेपाली सेनाबाट ७१ हजार र अनुसन्धान विभागबाट ३ हजार तथा म्यादी प्रहरी १ लाखको संख्यामा निर्वाचन सुरक्षामा खटाइएको छ ।

नेपाली सेनाले निर्वाचनका लागि लक्षित गर्दै देशभरका विभिन्न स्थानमा ८ सय ३४ वटा अप्रेटिङ बेस स्थापना गरेको छ । स्थानीय पोस्ट तथा ब्यारेक नभएका स्थानमा तत्कालै जनशक्ति परिचालन गर्न सकिनेगरी सेनाले अस्थायी बेस स्थापना गरेको सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।

सैनिक प्रवक्ता सिलवालका अनुसार कम्पनीबाट तैनाथ हुने बेसमा १ सय बढी सैनिक परिचालन हुनेछन् भने प्लाटुनबाट परिचालन हुने बेसमा ४० जना बढी सैनिक खटिनेछन् ।

‘सेनाले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै देशभरका विभिन्न स्थानमा ८ सय ३४ वटा अप्रेटिङ बेस स्थापना गरेको छ, कम्पनीबाट तैनाथ हुने बेसमा १ सय बढी र प्लाटुनबाट परिचालन हुने बेसमा ४० जनाभन्दा बढी सैनिक खटाइएको छ,’ सैनिक प्रवक्ता सिलवालले राजधानीसँग भने ।

सरकारले हरेक मतदानस्थलमा ३० मिनेटभित्र सुरक्षाकर्मी पुग्ने गरी तैनाथ रहन निर्देशन दिएपछि सेनाले त्यहीअनुसारको तयारी गरेको हो । सेनाले अस्थायी बेसबाटसमेत मतदानस्थल तत्काल पुग्न नसकिने स्थानका लागि चार स्थानमा हेलिकोप्टरसहितको टोली तयारी अवस्थामा राखेको छ । जसअनुसार काठमाडौं, इटहरी, सुर्खेत र पोखरामा सेनाका हेलिकोप्टर स्टेन्डबाइ रहनेछन् ।

सेनाले आफ्नो जिम्मेवारीअन्तर्गत पिकेटिङ, पट्रोलिङ तथा सुचना संकलन र अन्य सुरक्षा निकायसँग समन्वय गरी काम गर्नेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले सेना परिचालनका लागि गत ३० जेठमा आदेश जारी गरेकी थिइन् । सरकारले मतपत्र छपाइको सुरक्षादेखि ढुवानीसम्मको सुरक्षा जिम्मा पनि सेनालाई दिएको थियो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी विष्णुकुमार केसीले स्थानीय तह निर्वाचनका लागि तोकिएका जनशक्ति फिल्डमा पुगिसकेको जानकारी दिए ।

‘नेपाल प्रहरीका जनशक्तिले फिल्डमा पुगेर काम सुरु गरिसकेका छन्, देशभरका स्थानीय तहका मतदान स्थल र मतदान केन्द्रमा निर्वाचन सुरक्षाका लागि प्रहरी परिचालन भइसकेको छ,’ प्रहरी प्रवक्ता केसीले भने ।

सशस्त्र प्रहरी प्रवक्ता डीआईजी विदुर खड्काले सशस्त्र प्रहरीतर्फबाट पनि निर्वाचन सुरक्षाका लागि आवश्यक जनशक्ति फिल्डमा परिचालन भइसकेको जानकारी दिए । उनले देशभरका १ सय ११ स्थानमा सशस्त्र प्रहरीले रिजर्भ फोर्स राखेको बताए ।

‘स्थानीय तह निर्वाचनका लागि सशस्त्र प्रहरीतर्फबाट आवश्यक जनशक्ति परिचालन भइसकेको छ, देशभर १ सय ११ स्थानमा रिजर्भ फोर्स पनि राखिएको छ, सशस्त्रले मतदान स्थल र मतदान केन्द्रमा दोस्रो तहको घेरामा रहेर जिम्मेवारी निर्वाह गर्नेछ,’ सशस्त्र प्रवक्ता पाण्डेले भने ।

सशस्त्र प्रहरीले जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालयसहितको सुरक्षा पनि गर्दै आइरहेको छ । सशस्त्र प्रहरीले मतदान सम्पन्न भइसकेपछि मतपेटिकालाई मतगणना स्थलसम्म लैजान पनि सुरक्षा दिनेछ भने मतगणना स्थलको सुरक्षामा पनि सशस्त्र प्रहरी खट्नेछन् ।राजधानी दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published.