भरतपुरमा गठबन्धन हार्दैछ, प्रचण्डको धम्की त्यही पराजित मानसिकताको उपज होः पद्मा अर्याल

राजनिति

काठमाडौं, २७ वैशाख । नेकपा एमालेकी सचिव पद्मा अर्यालले नेपाली कांग्रेस कमजोर भएकाले नै अरु दलको सहायता लिएको बताएकी छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ अर्यालले भनिन्, “देशभरि आमने सामने हुने दल भनेको नेपाली कांग्रेस र एमाले हुन् । तर एमाले दह्रो भएकाले उसले एक्लै जाने आँट गरेन र गठबन्धनको सहारा लिएको हो ।

उसले आफ्नो कमजोरी स्वीकार गरेको प्रस्ट छ । जो कमजोर छ, उसैले सहायता लिने हो ।”नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको अभिव्यक्तिले पनि गठबन्धनको पराजय हुने निश्चित देखिएको उनले दाबी गरिन् । अर्यालले भनिन्, “प्रचण्डले भरतपुरमा नेकपा एमाले र अध्यक्ष केपी ओलीलाई गालीगलौज गरे, आफ्नी छोरीले नजिते मुलुकमा द्वन्द्व हुन्छ भने धम्काए । यो नै गठबन्धनको हारको मानसिकताको उपज हो हो । हामीले हारे मुलुक संकटमा पर्छ भन्नुको अर्थ जनताले थाहा पाइसकेका छन् । कांग्रेसले नजिते बजेट पठाउँदैनौं भन्ने प्रधानमन्त्री पत्नीको अभिव्यक्ति पनि त्यसकै उपज हो ।”

आफ्नो पार्टीले पुरानो शाख जोगाउने मात्र नभई बढोत्तरी गरेर लाने दाबी पनि एमाले सचिव अर्यालले गरिन् । उनले भनिन्, “एमालेको पक्षमा जनलहर उर्लंदो छ । धेरै मानिस पार्टी प्रवेश गरेका छन् । ५ दलको गठबन्धन एकातिर, एमाले अर्कातिर भएर हेर्दा पनि हाम्रै पल्ला भारी छ । हामीले अनेक प्रतिकूलताका बीचमा शाख जोगाउने मात्र होइन, बढोत्तरी गरेर जाने हो । जनतालाई विकल्प छ, अस्थिरताको संवाहकहरुलाई रोज्ने कि स्थिरताको संवाहकलाई रोज्ने ? अब एमालेको विकल्प छैन ।”

महिला उम्मेदवारीको सवालमा नेपाली कांग्रेस असंवेदनशील र अनुदार रहेको टिप्पणी पनि उनले गरिन् । अर्यालले भनिन्, “नेकपा एमाले महिला उम्मेदवार सबभन्दा धेरै उठाउने पार्टी हो । हामीले हिजोभन्दा संख्या बढाएका छौं । तर गठबन्धनबाट कानुनले गरेको प्रबन्ध पनि कुल्चने भयो । यो गम्भीर बहस हो । नेपाली कांग्रेसका निम्ति यो लज्जाजनक विषय हो । यसले ऊ महिलाप्रति संवेदनशील छैन । ऊ महिलाप्रति अनुदार छ भन्ने देखाएको छ ।”

Leave a Reply

Your email address will not be published.