एमाले कार्यकर्तामाथि कांग्रेसको आक्रमण, एकजनाको आँखो फुट्यो

राजनिति

गोरखामा नेपाली कांग्रेसका कार्यकर्ताले नेकपा एमालेका कार्यकर्तामाथि गएराति आक्रमण गरेका छन्। आरुघाट गाउँपालिका १ मान्बुमा कांग्रेस कार्यकर्ताले एमालेका कार्यकर्तामाथि आक्रमण गर्दा एकजनाको आँखो फुटेको छ।

चुनावी प्रचारबाट फर्किँदै गरेको समयमा श्यामचेतमा कांग्रेसका टोलीले घेरेर आक्रमण गरेको एमाले गोरखाले जनाएको छ। आक्रमणबाट एमालेका गोपाल लामा, राजबहादुर लामा र विक्रम लामा गम्भीर घाइते भएका छन्।

कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार गजे घले ‘सूर्य’ नेतृत्वको टोलीले आक्रमण गरेको एमालेको आरोप छ।

वडाध्यक्ष उम्मेदवार घलेसँगै सानु घले, कुमार लामा, कर्म लामा, सन्तोष लामा, निश्चल लामा र मेघराज गुरुङ लगायतको टोलीले आक्रमण गरेको पीडितहरुको भनाइ छ।

स्थानीय वीरबहादुर लामाका अनुसार सोमबार दिउँसो धोरतमा कार्यक्रम राखिएको थियो। त्यहाँबाट फर्किँदा राति पौने ८ बजे श्यामचेतमा खाजा खान लाग्दा कांग्रेसका कार्यकर्ताले आक्रमण गरेका हुन्।

कुटपिटबाट घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ। ‘विक्रम लामाको एउटा आँखो नै फुटेको छ। अरुको पनि टाउको र शरीरमा चोट छ’, उनले भने।

आक्रमण गर्ने टोलीले सोमबार दिउँसो पनि कार्यक्रमस्थल जाँदै गर्दा एमालेका कार्यकर्तालाई रोकेर धम्काएको लामाले बताएका छन्।

एमाले आरुघाट गाउँपालिका कमिटी अध्यक्ष मेनबहादुर अधिकारीले दोषीलाई कारबाही गर्न माग गरेका छन्।

‘मान्बु घटनाका मुख्य नाइके गजे घले ‘सानु’, घटनमा संलग्न कुमार लामा, कर्म लामा लगायतलाई तत्काल प्रकाउ गरी कारवाही प्रक्रिया अगाडी बढाउन माग गर्छौँ’, उनले भनेका छन्, ‘राज्य संरक्षित आतंकविरुद्ध एकजुट हुन मतदाताहरुमा अपील गर्दछौँ।’

Leave a Reply

Your email address will not be published.