सञ्जुले मर्नुअघि भिडियो सेयर गर्दै फेसबुकमा लेखेकी थिइन् ‘मिसिङ यु लभ’

समाचार

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा भारोत्तोलनतर्फ स्वर्णपदक विजेता सञ्जु चौधरीको मंगलबार मृत्यु भएको छ ।मंगलबार बिहान करिब ६ बजे ललितपुरस्थित भारोत्तोलन प्रशिक्षक सञ्जय महर्जनको घरमा सञ्जु झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

एसियन गेम्सको छनोटका लागि नेपालगन्जबाट काठमाडौं आएकी सञ्जु प्रशिक्षक महर्जनको घरमा बसेकी थिइन् । सञ्जु महर्जनको पारिवारिक सदस्यजस्तै थिइन् । मर्नुअघि सञ्जुले आफ्नो फेसबुकमा हिन्दी टेलीसिरियलको सानो भिडियो सेयर गर्दै ’मिसिङ यु लभ’ लेखेकी थिइन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार चौधरी ललितपुर लुभु स्थित सन्जय महर्जनको घरमा मृत भेटिएकी हुन् ।सञ्जय भारत्तोलनका कोच पनि हुन् । बाँके नपालगन्जकी सञ्जु कोचको घरमा डेरा लिएर बसेको कोठाभित्रै ढोका भित्रबाट लक गरेको अवस्थामा सलले घाँटी कसेर झुण्डियको अवस्थामा बिहान ६ बजे मृत फेला परेकी थिइन् । सञ्जु उक्त घरमा एक महिनादेखि कोठा लिएर बसेकी थिइन् ।

चौधरीको शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ । उनको मोबाइल लगायतका सामाग्री फरेन्सिक ल्याबमा पठाइएको छ । के–कति कारणले आत्महत्या गरिएको हो भन्ने खुलेको छैन ।

६ महिनाअघि नेपाल प्रहरीबाट राजीनामा-२४ वर्षीया सञ्जुले ६ महिनाअघि मात्र नेपाल प्रहरीबाट राजीनामा दिएकी थिइन् । केही महिना करारमा काम गरेकी उनले केही समयपछि नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा काम गरेकी थिइन् ।

भारत्तोलनमा आउनुअघि सञ्जु क्रिकेटलगायत अन्य केही खेलमा पनि सहभागी थिइन् । पुलिस छाडेपछि पछिल्लो समय उनले आर्मीको टिमसँग रहेर प्रशिक्षण गर्थिन् । उनले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेकी थिइन् ।

रात्री भोजमा सामेल-प्रशिक्षक महर्जनको घरमा आयोजित रात्री भोजमा सन्जु सामेल भएकी थिइन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । एसियाली खेलकुदको तयारीका लागि केही दिन अगाडि मात्र उनी काठमाडौं आएकी थिइन् ।

१३ औं दक्षिण एशियाली खेलकुद (साग)अन्तर्गत भारोत्तोलन प्रतियोगितामा नेपालकी सञ्जु चौधरीले स्वर्ण पदक जित्दै इतिहास रचेकी हुन् । महिला ५९ केजी तौल समूहमा सञ्जुले श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण इतिहास रचेकी थिइन् ।

पोखरा माटेपानीस्थित एसआर केसी बैंक्वेटमा भएको प्रतियोगितामा सञ्जुले स्न्याचमा ७४ र क्लीन एण्ड जर्कमा ९७ सहित १७१ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान (स्न्याच, क्लीन एण्ड जर्क तथा टोटलतर्फ) का साथ साग भारोत्तोलनमा महिलातर्फ पहिलो स्वर्ण जित्न सफल भएकी हुन् ।

शव गृहजिल्ला पठाइने-पोस्टमार्टमपछि उनको पार्थिव शरीर गृहजिल्ला बाँकेको नेपालगन्ज पठाइने महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
नेपालगन्ज पठाउनुअघि मंगलबार साँझ उनको पार्थिव शरीर त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा श्रद्धाञ्जलीका लागि राखिनेछ ।

Leave a Reply

Your email address will not be published.