बढ्दो साइबर अपराध, चालु आवमा तीन हजार बढी उजुरी !

समाचार

काठमाडौं । नेपालमा पछिल्लो समय साइबर अपराधका घटना बढ्दै गएको पाइएको छ । नेपालमा प्रहरीको तथ्यांकलाई केलाउँदा पनि साइबर अपराधका घटनाहरु बढ्न थालेको छ ।

साइबर क्राइम कम्प्युटर तथा कम्प्युटर नेटवर्क प्रयोग गरेर हुने जुनसुकै प्रकारका अपराधहरु हुन । विज्ञान र प्रविधिको विकाससँगै अपराधको संसार पनि विकसित भएको छ । साइबर अपराध पनि विज्ञान र प्रविधिसँग जोडिएको अपराधको रुपमा लिन सकिन्छ ।

कम्प्युटर र इन्टरनेटबाट गरिन्छ साइबर अपराध । यस्तो अपराधअन्र्तगत पर्ने अपराध हुन् : वेवसाइट तथा इमेल ह्याकिङ, चरित्रहत्या, डाटा चोरी, इन्टरनेटमार्फत व्ल्याकमेलिङ, इन्टरनेट बैंकिङ जालसाजी, अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पुर्याउने क्षति, जालसाजी । यस्तै साइबर अपराधमा इन्टरनेट, इन्ट्रानेट र एक्स्ट्रानेटसग सम्बन्धित आपराधिक सबै गतिविधिहरु पर्छन् ।

इन्टरनेट माध्यमबाट हुने विभिन्न अपराधमध्ये अहिले हामीले भोगिरहेको प्रमुख समस्या हो, सामाजिक सञ्जालको दुरुपयोगबाट भइरहेको अपराध। नेपालमा इन्टरनेटको पहुँचमा वृद्धि भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या बढेको देखिन्छ । प्रयोगकर्ता बढेसँगै यसको दुरुपयोगबाट हुने अपराध पनि बढ्दो छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोमा गत आर्थिक वर्ष २०७७/७८ मा तीन हजार ९०६ वटा उजुरी परेकोमा तीन हजार ७२५ उजुरी सामाजिक सञ्जालको दुरुपयोगसँग सम्बन्धित छन् । त्यस्तै, चालू आवको फागुन मसान्तसम्म दर्ता तीन हजार ५१ उजुरीमध्ये दुई हजार ८८८ सामाजिक सञ्जाल सम्बन्धी छन् । अर्थात्, देशभित्र भएका साइबर अपराधमध्ये ९५ प्रतिशतभन्दा बढी सामाजिक सञ्जालसँग सम्बन्धित छन्।

त्यसमा पनि फेसबूक मार्फत हुने अपराधको हिस्सा निकै बढी छ । गत आर्थिक वर्षमा ७१ प्रतिशत रहेको फेसबूक मार्फत भएको अपराधको संख्या यो आवमा ९१ प्रतिशत पुगेको छ ।

के छ कानूनी कारबाही ?-

नेपालमा साइबर अपराधको नियमनका लागि विद्युतीय कारोबार ऐन, २०६३ बनेको छ । यही ऐनका आधारमा कार्बाही हुने गरेको छ । सो ऐनको दफा ४७ नेपालमा हुने साइबर अपराध रोक्न सबैभन्दा बढी प्रयोग हुने र सबैभन्दा बढी विवादित दफा हो ।

यस दफाले कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चार माध्यमहरूमा नैतिकता, शिष्टाचारविरुद्धका सामग्री, कसैप्रति घृणा वा द्वेष फैलाउने सामग्री प्रकाशन वा प्रदर्शन गरे दोषीलाई १ लाख रुपैयाँ जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

दफा ४७ विवादित भएपछि साइबर अपराध रोक्ने छुट्टै कानुन निर्माण गर्नुपर्ने माग बढिरहेको छ । पछिल्लो समयमा खासगरी फेसबुक प्रयोगले साइबर अपराध बढाएको स्पष्ट देख्न सकिन्छ । नेपालमा सबैभन्दा धेरै प्रयोगकर्ता भएको सामाजिक माध्यम फेसबुक हो । जसको एन्ड्रोइड मोबाइल छ, उसले फेसबुक अनिवार्य प्रयोग गरेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published.