निर्वाचन बहिष्कार गरेका धर्मेन्द्र बास्तोला भालुवाङबाट समातिए

राजनिति

काठमाडौं । नेकपा बहुमतका नेता प्रहरी नियन्त्रणमा परेका छन् । नवगठित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलालाई नियन्त्रणमा लिइएको हो । सोधपुछका लागि दाङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

उहाँलाई बिहीबार बिहान ४ बजे दाङको भालुवाङबाट नियन्त्रणमा लिइएको हो । पूर्व–पश्चिम राजमार्ग हुँदै बिहीबार नेपालगञ्जतर्फ जाँदै गर्नुभएका बास्तोला सहित केही व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख सुरेश काफ्लेले पुष्टि गर्नुभयो ।

बास्तोलाको साथमा सहयोगीहरू राजेन्द्र साउद र अचल मोक्तान पनि रहनु भएको छ । बास्तोला संयोजक रहेको नेकपा बहुमतले केही दिन अघिमात्र स्थानीय तह निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको थियो ।

सो पार्टीले निर्वाचन बहिष्कार गरेकाले शान्ति सुरक्षाको विषयलाई लिएर सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरी प्रमुख काफ्लेले बताउनुभयो ।

निर्वाचनको बेला हुन सक्ने सम्भावित घटना हुन नदिन, शान्ति सुरक्षालाई ध्यानमा राख्दै सोधपुछका लागि रोकेको प्रहरीको भनाई रहेको छ । बास्तोला नेपालगञ्जमा पार्टीको कार्यक्रममा सहभागी हुन जाँदै हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published.