मौन अवधिमा बोले बालेन शाह, निर्वाचन आयोगको ध्यानाकर्षण

राजनिति

काठमाडौं : काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले मौन अवधिमा आफूविरुद्ध दुष्प्रचार भएको भन्दै खण्डन गरेका छन्।मंगलबार राति १२ बजेदेखि लागु भएको मौन अवधिमा मौन रहेका शाहले आफूविरुद्ध दुष्प्रचार भएपछि बिहीबार फेसबुकमार्फत खण्डन गरेका हुन्।

‘हामीले कुनै पार्टी प्रवेश गरेको वा कुनै पार्टीका उम्मेदवारलाई समर्थन गरेको जस्ता निराधार हल्लाहरु फैलाउने प्रयास भएकोमा यसलाई हदैसम्म खण्डन गर्दछौँ,’ उनले भनेका छन्, ‘हामी स्वतन्त्र छौं।’

शाहले मौन अवधिपूर्व मतदाताहरुको ‘घरदैलोमा प्रवेश’ गर्ने र मतदाताहरुको नै समर्थन लिनेदिने बाहेक अरु कुनै किसिमका व्यवहारहरु नगरेको प्रष्ट्याएका छन्।

निर्वाचनभन्दा अगाडिको मौन अवधिको अर्थ उम्मेदवारहरुले आफ्ना मतदातालाई भन्ने जति भनिसक्ने र मतदाताहरु स्वयंले शान्त भएर उत्तम उम्मेदवार छान्न समय लिने भएको उल्लेख गर्दै शाहले यसरी सहि उम्मेदवारलाई मतदान गर्न सकिने बताएका छन्। लोकतन्त्रको यो उत्तम तरिका भएको उनको भनाइ छ।

तर, यहि समयलाई कसैको अस्तित्व, विचार, सन्देश र वास्तविकतामाथि आक्रमण गर्नमा उपयोग गर्नु गैरकानुनी र अलोकतान्त्रिक भएको र मतदाताहरुमाथिको अन्याय पनि भएको शाहले उल्लेख गरेका छन्।

यो मतदाताहरुलाई भ्रममा राखेरै भए पनि जित्नै पर्ने सोचको उपज भएको उनको भनाइ छ। यस्ता हल्ला र हल्ला फैलाउने तत्वहरुप्रति सरकार, निर्वाचन आयोग र स्वयम मतदाताहरु सजग रहन शाहले अपिल गरेका छन्।

Leave a Reply

Your email address will not be published.