स्याङ्जा जीप दुर्घटना, ज्यान गुमाउने १४ जनाकै परिचय खुल्यो(अपडेट)

समाचार

काठमाडौं । स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना हुँदा ज्यान गुमाएका १४ जनाकै परिचय खुलेको छ । दुर्घटनामा वालिङ नगरपालिका १४ अर्खलबास बस्ने ६३ वर्षीया माया पुन, नौ वर्षीय प्रवीण कुँवर, ५० वर्षीय कुलदीप कुँवर, ५० वर्षीया डेमकुमारी कुँवर, ८६ वर्षीया हरिकला कुँवर, ५० वर्षीया टेककला कुँवर, २५ वर्षीया जमुना कुँवरको ज्यान गएको हो ।

यस्तै ७० वर्षीया भीमकला कुँवर, ७० वर्षीया मुवाकुमारी कुँवर, ४३ वर्षीया पोटकुमारी कुँवर, ४३ वर्षीया जानुका कुँवर, ४२ वर्षीया ज्ञानदली कुँवर, ५० वर्षीया मीना कुँवर र वर्ष नखुलेकी फूलदेवी कुँवरको दुर्घटनामा ज्यान गएको हो ।

यस्तै दुर्घटनामा घाइते भएकामध्ये ११ जनाको पोखरामा र एक जनाको वालिङमा उपचार भइरहेको छ । वालिङ १४ को सिख्रेबाट तिवारीपसल मतदान केन्द्रका लागि मतदाता लिएर छुटेको ग २ च ३०२६ जीप अर्खलावासमा दुर्घटना भएको हो ।

मतदान अधिकृत कुटिए, मतपेटिका पनि तोडफोड-सप्तरी । सप्तरीमा मतदान अधिकृत कुटिएका छन् । मतपेटिका पनि तोडफोड गरेपछि मतदान राेकिएकाे छ । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको २ हरिरबा जनता मावि मतदान स्थलमा केही व्यक्तिले मतदान अधिकृतलाई कुटपिट गरेर मतपेटिकाहरु पनि तोडफोड गरेपछि मतदान रोकिएको हाे।

मतदानको क्रममा झडप-रौतहटको गढीमाई नगरपालिका ३ लक्ष्मीपुरमा मतदानको क्रममा झडप भएको छ। लक्ष्मीपुरस्थित खरिदी प्राथमिक विद्यालय भवनमा रहेको मतदान केन्द्रमा झडप भएको हो।

दुई पक्षबीच मतदानकै क्रममा विवाद भएपछि झडप भएको हो। झडप अझै नियन्त्रणमा आइसकेको छैन। झडपमा अहिलेसम्म १५ जनाको टाउको फुटेको बताइएको छ।

उक्त ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप बल पठाउँदै गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published.