काठमाडौं। अभिनेत्री करिश्मा मानन्धरले शीतल निवास अगाडि रहेको केन्द्रमा स्थानीय निकाय निर्वाचनको लागि मतदान गरेकी छन् । भोट हाल्न उनी पति विनोद र छोरी कवितासँगै त्यहाँ पुगेकी थिइन् ।
स्थायी बसोबास ललितपुर गोदावरीमा भएपनि करिश्माले काठमाडौंको लाजिम्पाटबाट मतदान गर्दै आएकी छिन् । आफूले काठमाडौंको मेयरमा एमाले उम्मेदवार केशव स्थापित र उपमेयरकी उम्मेदवार सुनिता डंगोललाई मतदान गरेको उनले बताइन् ।
‘म एमालेमा नभएपनि स्थापितजीलाई नै भोट हाल्थेँ’ केही महिनाअघि एमाले प्रवेश गरेकी नायिकाले भनिन्, ‘छोरी र विनोदजीलाई मैले यसमा हाल्नूस भनेर भनिँन ।’ मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको प्रशंसा गर्दै करिश्माले उनी जोशसहितको युवा भएको बताइन् ।
बालेनजस्तै युवा राजनीतिमा आउनुपर्ने बताउँदै करिश्माले युवालाई राजनीतिमा स्थान दिनुपर्ने पनि बताइन् ।कलाक्षेत्रका अन्य व्यक्तित्वले पनि अन्य दलबाट उम्मेदवारी दिएको तर्फ लक्षित गर्दै करिश्माले सबैको बाटो अलग भएपनि गन्तव्य एउटै भएको बताइन् ।
‘सबैको गन्तव्य एउटै छ तर बाटो अलग । म अलग बाटोमा भएपनि सिनेमा क्षेत्रकै आवाज उठाउँछु । हामी एउटै परिवारका हौं’ उनले भनिन् ।