सर्लाहीमा झडप भएका मतदान केन्द्रमा सेना लियो एक्शन !

समाचार

काठमाडौं । केही मतदान केन्द्रमा झडप भएर मतदान प्रभावित भए पनि सर्लाहीका अधिकांश मतदान केन्द्रमा मतदान जारी छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले मतदान नै प्रभावित हुने गरी झडप भएका स्थानमा नेपाली सेनालाई अग्रभागमा खटाइ मतदान कार्य जारी राखिएको जानकारी दिएका छन् ।

गौतमका अनुसार अहिले चक्रघट्टा गाउँपालिकास्थित शिवनगरको रासनारायण प्राथमिक विद्यालयमा राजनीतिक दलका कार्यकर्ताबीच झडप भएपछि त्यहाँ मतदान रोकिएको छ । प्रहरीले हवाई फायर गरी स्थित नियन्त्रणमा लिएको छ ।

यस्तै, बरहथवा नगरपालिका–१७, श्रीपुरमा पनि विवादका कारण मतदान रोकिएको छ । ती दुवै ठाउँमा मतदान सुरु गराउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी गौतमले बताए ।

झडप भएर दुई पटक रोकिएको धनकौल गाउँपालिका–२, पशु सेवा केन्द्र मतदान केन्द्रमा भने अहिले मतदान जारी छ । त्यहाँ पनि राजनैतिक दलका नेता कार्यकर्ताबीच पटक–पटक झडप हुँदा प्रहरीले एक दर्जन बढी राउण्ड हवाई फायर गरिसकेको छ ।

झडप नरोकिएपछि नेपाली सेनालाई पहिलो घेरामै राखेर मतदान भइरहेको छ । नेपाली सेनाले स्थित नियन्त्रणमा लिएपछि कौडेना गाउँपालिका–६, मा रहेको जनता आधारभूत विद्यालयको मतदान केन्द्रमा पनि अहिले मतदान जारी छ । सेना पुगेपछि त्यहाँको अवस्था अहिले सामान्य छ ।

यस्तै, रामनगर गाउँपालिकास्थित पुरानो गाविस। भवन मतदान केन्द्रमा दिउँसो केहीबेर रोकिएको मतदान अहिले भने जारी छ । मतदान केन्द्रमा ढुङ्गामुढा प्रहार भएपछि प्रहरीले केही राउण्ड हवाई फायर गरेको थियो ।

त्यसैगरी, मतदान अधिकृतले नै मतदान गर्न सिकाएको भन्दै विरोध भएपछि बलरा नगरपालिका–३को गाविस भवन मतदान केन्द्रमा सहायक मतदान अधिकृतलाई जिम्मेवारी तोकेर मतदान सुरु गरिएको छ ।यी दुई–चार ठाउँबाहेक सर्लाहीका अन्य मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान चलिरहेको सर्लाहीका मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार पियाले जानकारी दिनुभयो ।

पानी पर्दा धेरैजसो मतदान केन्द्रमा दिउँसो केहीबेर मतदान प्रभावित भएको थियो । ५ बजेसम्म लाइनमा आएर बस्नेलाई मतदान गर्न दिइने मुख्य निर्वाचन अधिकृत पियाले बताउनुभयो ।
मतदान सम्पन्न भएपछि सबै स्थानका मतपेटिका गाउँपालिका तथा नगरपालिकाको कार्यालयमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा जम्मा पारिने छ ।

Leave a Reply

Your email address will not be published.