६ महानगर : काठमाडौंमा बालेन, बाँकी ५ मा गठबन्धनको अग्रता, एमाले पछिपछि

राजनिति समाचार

काठमाडौं । देशका ६ महानगरपालिकामध्ये काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन साह र बाँकी ५ वटामा सत्तारुढ गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

सबै महानगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन छ ।

देशको संघीय राजधानी काठमाडौंमा स्वतन्त्र उम्मेदवारले अग्रता लिईँरहँदा भरतपुर, पोखरा, ललितपुर, विराटनगर र वीरगंज महानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन् । नेकपा एमालेका उम्मेदवार भने ६ वटै महानगरपालिकामा दोस्रो स्थानमा छन्।

महानगरको उपप्रमुखको हकमा भने एमालेले काठमाडौं, ललितपुर र विराटनगरमा अग्रता लिइरहेको छ ।

काठमाडौं महानगरको मेयरमा बालेन साहले २४५७ मत ल्याएर अग्रता लिनु भएको छ भने एमालेका केशव स्थापितले १४२७ मत ल्याउँदै पछ्याइरहेका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंह ११६८ भोट सहित तेस्रो स्थानमा छन् ।

ललितपुर महानगरमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चिरिबाबु मर्हजनले ८७७ मतसहित अग्रता लिइरहनु भएको छ भने नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले ४०२ मतसहित दोस्रो स्थानमा छन् ।

भरतपुरमा पनि सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालले १२०८ मत ल्याउँदै अग्रता लिइरहेका छन् भने नेकपा एमालेका बिजय सुवेदीले १०८७ सहित दोस्रो छन् । ।

त्यस्तै पोखरा महानगरमा पनि सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका धनराज आचार्यले ९२३
मत सहित अग्रता हासिल गर्नु भएको छ भने एमालेका कृष्णबहादुर थापा ८०६ मतसहित दोस्रो स्थानमा छन् ।

वीरगञ्ज महानगरमा प्रमुख र उपप्रमुख दुबैमा गठबन्धनको अग्रता छ । गठबन्धनबाट जनता समाजवादीका राजेशमान सिंहले १५०७ मत ल्याएर अग्रता लिँदा नेकपा एमालेका बिजयकुमार सरावगी ६६८ मतसहित सिंहलाई पछ्याउँदै छन् ।

विराटनगर महानगरपालिकामा पनि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नागेश कोइरालाले २५८३ मतसहित अग्रता लिँदा त्यस्तै नेकपा एमालेका सागरकुमार थापाले १९९० मत ल्याएर कोइरालाको पछिपछि छन् ।

Leave a Reply

Your email address will not be published.