काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी पुग्नु भएको छ । प्रधानमन्त्री मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा आज लुम्बिनी पुग्नु भएको हो ।
भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट केहीबेर अघि मोदी ११ सदस्यीय प्रतिनिधिमण्डलसहित लुम्बिनी पुग्नुभयो । लुम्बिनीस्थित अन्तरराष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी मोदीलाई स्वागत गर्नुभयो ।
प्रधानमन्त्री देउवाकी धर्मपत्नी डा आरजु राणा देउवा, गृहमन्त्री बालकृष्ण खाण, परराष्ट्रमन्त्री डा. नारायण खड्का, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसहितको सहभागिता रहेको थियो ।
यस्तै, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, नेपाल सरकारका मुख्य सचिव शङ्रदास बैरागी, परराष्ट्र सचिव भरतराज पौडेल, भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्मा, काठमाडौँस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत नाम्या खम्पालगायतले पनि पनि भारतका विशिष्ठ अतिथिलाई स्वागत गर्नुभयो । यसपछि भारतका प्रधानमन्त्री मोदीले मायादेवी मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम तय गरिएको छ ।
नेपाल आइपुगेको छु। बुद्ध पूर्णिमाको विशेष अवसरमा नेपालका अद्भूत जनताहरुमाझ हुन पाउँदा खुशी लागेको छ। लुम्बिनीमा हुने कार्यक्रमहरुमा सहभागी हुने अपेक्षामा छु।
— Narendra Modi (@narendramodi) May 16, 2022
लुम्बिनीमा न्यानो स्वागतको लागि प्रधानमन्त्री देउवालाई धन्यवाद दिन चाहन्छु। @SherBDeuba pic.twitter.com/Fr6dXr6Rh7
— Narendra Modi (@narendramodi) May 16, 2022