दलितहरू एकजुट भएर वडाका सबै पद जिते

समाचार

जुम्ला — कनकासुन्दरी गाउँपालिका ८ को दलितवस्तीमा आइतबार बेग्लै उत्साह थियो । नहोस् पनि किन ? गाउँमा दलित समुदायको बाहुल्यता छ । तर, राजनीतिक दलले दलितलाई कहिल्यै प्रमुख पदको उम्मेदवार बनाएनन्, बरू दलितहरूमाथिको दमनलाई प्रश्रय दिइरहे । आफूहरूकै बाहुल्यता भएर पनि अवसर नपाएपछि यहाँका दलितहरूले एकता देखाए र स्वतन्त्र उम्मेदवारी दिएर वडाध्यक्षसहित चार पदमा दलका उम्मेदवारलाई जितेर देखाएका छन् ।

मुख्य दलको दबदबा चिर्दै दलित समुदायका स्वतन्त्र उम्मेदवारको प्यानलनै विजय भएपछि सिंगो बस्तीमा खुसीयाली छाएको छ । बाजागाजा र नाराजुलुससहित विजय र्‍यालीले दलित बस्ती उन्मुक्त छ ।स्वतन्त्र उम्मेदवार धनबहादुर कामीले २ सय ८८ मत ल्याएर वडाध्यक्षमा जितेका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मातृकाप्रसाद उपाध्यायले २ सय २० मत ल्याएका थिए ।

दलित समुदायबाट स्वतन्त्र उम्मेदवारी दिएका गोल दमाई र कर्णजीत सार्कीले पनि वडा सदस्य जिते । दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल नै विजयी भइन् । एक मात्र महिला सदस्य पदमा भने कांग्रेसकी रामुदेवी काफ्लेले जितिन् ।

२०७४ को स्थानीय तहको निर्वाचनमा यहाँबाट नेकपा एमालेले जितेको थियो । तर, त्यो बेला दलित महिला सदस्यबाहेक पदमा दलित समुदायको कोही पनि थिएनन् । धनबहादुर एमालेकै कार्यकर्ता हुन् । एमाले विभाजित हुँदा नेकपा एकीकृत समाजवादीतिर लागे । तर, दलित भएकै कारण पार्टीले आफूलाई अवसर नदिएको महसुस भएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएर अघि बढेका हुन् ।

‘ठुला दलमा हाम्रो कुनै भाउ छैन । बस्तीको हकहितका निम्ति सबै समुदायलाई मनाएर स्वतन्त्र मै भएपनि उठछु भन्ने लाग्यो,’ धनबहादुर भन्छन्, ‘त्यसपछि उम्मेदवारी दर्ताको केही दिन अघि गाउँ भेला बोलाएँ । अनि प्यानल नै बनाएर स्वतन्त्र उठ्ने निर्णय गरेँ ।’

कनकासुन्दरी–८ मा ६ गाउँ छन् । सञ्जेलबाडा, सुमलगाउँ, कुलालबाडा, रोकायाबाडा, भट्ट भण्डारीबाडा र पाउसेरा । यीमध्ये सञ्जेलबाडा, सुमलगाउँ र कुलालबाडा दलित बाहुल्य गाउँ हुन् । जहाँका २ सय २५ दलित घरधुरीमा ६ सय मतदाता छन् । वडामा कुल मतदाताको संख्या १३ सय छ । जसमध्ये यसपाला १ हजार ४२ मत खसेको थियो ।

गाउँमा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नेपाली कांग्रेस पार्टी सक्रिय भए पनि उनीहरूले मुख्य पदमा दलित समुदायबाट कसैलाई पनि उम्मेदवार बनाउने गरेका छैनन् । वडाध्यक्ष निर्वाचित कामी त्यही कारण आफूहरू एकजुट भएको बताउँछन् ।

‘चुनावमा दलित मतदाता किन्न पाइन्छ भन्दै हेपाह नजरले हेर्ने चलन छ । दलितको गरिबी र अशिक्षाको लाभ लिएर चुनाव जित्ने, तर दलितका लागि केही नगर्ने परम्परा बनेको छ,’ उनले भने, ‘त्यसकारण पनि दलित बस्तीमा सबैको सहयोग पाउन गाह्रो परेनँ । त्योसँगै अन्यले पनि साथ सहयोग दिनुभयो ।’

यहाँका दलित बस्तीमा समस्याका चाङ छन् । जातकै आधारमा हुने छोईछिटो उस्तै छ । यहाँ दलित र गैरदलितले पानी भर्ने धारामात्रै होइन, मृत्युपछि अन्तिम संस्कार गर्ने घाटसमेत अलग–अलग छन् । दलितहरूले धारा पधेरोमा सहजै पानी भर्न पाउँदैनन् ।कथित उच्च जातका पुराना पुस्ताहरु उनीहरुसँगै बसेर खादैनन् । दलित बस्तीको चिहान घाट अलग्गै छ, त्यो पनि गैरदलितले नापी नक्सा गरिसकेका छन् । बिहेबारीमा एकै भोजभतेर चल्दैन ।

‘स्थानीयको सबैभन्दा ठुलो गुनासो भनेको आफूहरूलाई दलहरूले रबर स्ट्याम्प बनाए भन्ने थियो,’ स्थानीय चुना कामी भन्छिन्, ‘दलितले कहिल्यै सुख मुनले बस्न पाएनौं । सधैं अरुको पिसानीमा पर्‍यौँ । चुनावमा भोट बैंक बन्यौं । अघि पछि केही पाएनौं ।’अघिल्लो स्थानीय तह निर्वाचनपछि यहाँका दलितहरुको साझा माग थियो- हिमा खोलामा पुल बनाइयोस् । तर, पुलको विषयमा जनप्रतिनिधिको ध्यान गएन ।

चुनाले पुल नभएकै कारण खेतबारीमा आउजाउ गर्न पनि खोला तर्नु परिरहेको उनले बताइन् ।‘अहिले सम्म गाउँमा राम्रो बाटो छैन । पानीको चरम अभाव छ,’ दलित अगुवा वीरमान कामीले भने ।वडाध्यक्षमा चुनाव जितेका धनबहादुर कामी भने एकतामा बल हुने प्रमाणित भएको बताउँछन् ।‘यो पटक एकता नै बल हो भन्ने प्रमाणित गरेका छौं । दलितको हरेक घरको विकासको अगुवा त बन्छौं नै, गैरदलितको पनि गुनासा सम्बोधन गरेर देखाउने अठोट गरेका छौं,’ उनले भने ।

Leave a Reply

Your email address will not be published.