मेलुङमा समाजवादीको बिजय जुलुसमा एमालेको आक्रमण, करिब एक दर्जन घाइते

समाचार

काठमाडौं । दोलखा जिल्लाको मेलुङ गाउँपालिका वडा नं.२ मा नेकपा एकीकृत समाजवादीको बिजय जुलुसमा नेकपा एमालेका कार्यकर्ताले आक्रमण गरेका छन् ।

वडा नम्बर-२ सुकाठोकरको विजय जुलुसमा स्याङवा डाँडामा एमालेका कार्यकर्ताले आक्रमण गरेका हुन् ।

वडाको कल्लेरी भन्ने स्थानबाट सुरु भएको बिजयी जुलुस स्याङवा डाँडामा पुग्दा अम्बर तामाङलगायत १० १२ जनाको समुहले आक्रमण गरेको समाजवादीका तर्फबाट नवनिर्वाचित वडाअध्यक्ष रामकृष्ण भण्डारीले जानकारी दिए ।

बिजय जुलुसमा बाजा किन बजाएको भन्दै उनीहरुले आक्रमण गरेका वडाअध्यक्ष भण्डारीको भनाइ छ । उनले भने, ‘हाम्रो बिजय जुलुस कल्लेरीबाट सुरु भएर कालिका स्कुलमा पुगेर समापन हुने कार्यक्रम थियो ।

जुलुस स्याङवा डाँडा आइपुग्दा अचानक १०/१२ जना पराजित मानसिकता भएका समुह एक्कासी आएर बाजा नबजाउन भन्यो, हामीले हुन्छ भनेर बाजा नबजाई २०/२५ मिटर पर पुग्यौ । तर उनीहरुले छानीछानी आक्रमण गर्न थाले ।

हामीले प्रतिकार गरेनौ किनकी हाम्रो बिजयी जुलुस थियो । हामी जनताबाट निर्वाचित हौँ । हामी जनताको मतको कदर गर्छौ ।’

उनकाअनुसार रामेश्वर थापा, रामहरि खड्का, विष्णु बस्नेत, शिव कार्की, युवराज कार्की, कृष्ण कार्की लगायत करिब १ दर्जन कार्यकर्ता घाइते भएका छन् । कुटपिटबाट २ जना गम्भीर घाइते भएका छन् ।

वडाध्यक्ष भण्डारी ३५० मत ल्याएर बिजयी भएका थिए ।

मेलुङ(२ मा एकीकृत समाजवादी र नेपाली कांग्रेसले गठबन्धन गरेको थियो । भने एमाले एक्लै चुनावी मैदानमा थियो ।

Leave a Reply

Your email address will not be published.