बालेन र सुनिताले जिते भने कसरी हाँक्लान् काठमाडौं , अहिले उठेको प्रश्न

राजनिति समाचार

परम्परावादी मानिसहरु नयाँ पुस्तामाथि सधैँ प्रश्न उठाउँछन्। अविश्वास गर्छन्। शंकाको नजरले हेर्छन्। काठमाडौं महानगरपालिकाको चुनावमा अग्रता लिइरहेका युवापुस्ताका बालेन शाह र सुनिता डंगोलमाथि अहिले पुरानो पुस्ताले यसैगरी प्रश्न उठाउन थालेको छ।

हिजोसम्म बालेनले मेयरमा एमाले–कांग्रेससँग प्रतिस्पर्धै गर्न सक्दैनन् भन्नेहरुले अहिले अर्को नयाँ प्रश्न अजमाएका छन्– पार्टी, संगठन नै नभएका, राजनीति नै नगरेका बालेनले जितिहाले भने पनि एक्लै काठमाडौं महानगरपालिका कसरी हाँक्न सक्लान्? दल र कर्मचारीहरुले सहयोग गरेनन् भने कसरी सफल होलान्?

लठ्टीको चोटले टाउको रिंगाएका ठूला दलका नेता–कार्यकर्ताहरुले बालेनको सम्भावित जितलाई लिएर केही सैद्धान्तिक– राजनीतिक प्रश्नसमेत उठाएको देखिन्छ।बहुदलीय संसदीय व्यवस्थामा पार्टी अपरिहार्य तत्व भएकाले स्वतन्त्र व्यक्तिले चुनाव जित्नु भनेको देश निर्दलियतातिर जानु हो र व्यवस्थामाथि नै संकट आइपर्नु हो भन्नेखालको विश्लेषणसमेत काठमाडौंमा सुन्न थालिएको छ।

अब देशैभरि यसैगरी लौरो लिएर स्वतन्त्र व्यक्तिले चुनाव जित्न थाले भने राजनीतिक दलको हालत के होला? काठमाडौं महानगरमा बालेनको अग्रतासँगै यस्तो प्रश्न खासगरी कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताहरुको मष्तिष्कमा घुम्न थालेको देखिन्छ।

एक इञ्जिनियर एवं र्यापरकाे पहिचान बनाएका बालेन साहले अहिले नै चुनाव जितिसकेको अवस्था होइन। तर, जित्ने सम्भावना बढ्दै गएको छ।

बालेनले कस्तो जादु चलाएर चुनावमा यो सफलता हात पारे? कांग्रेस र एमालेजस्ता मसिहा पार्टीले पनि कसरी एक युवासँग चक्मा खानुपर्ने अवस्था आइलाग्यो? यो अलग्गै विश्लेषणको पाटो हो। तर, यहाँ चर्चा गर्न खोजिएको विषय चाहिँ के हो भने बालेनले जितिहाले भने काठमाडौंको मेयर चलाउन सक्लान् त?

पुरानो सोचको राजनीतिक चेतना बोकेका मानिसले बालेन मात्रै होइन, सुनिता डंगोलमाथि पनि यस्तै प्रश्न उठाउन थालिसकेका छन्। किनभने, सन् २००१ की मिस नेवाः सुनिता डंगोल पनि बालेनजस्तै गैर राजनीतिक पृष्ठभूमीबाट आएकी हुन्। उनी स्वतन्त्र रुपमा मेयरमा उठ्न खोजिरहेकी थिइन्, पछि केपी ओलीले बोलाएर उनलाई एमाले प्रवेश गराएर सूर्य चिह्नको टिकट दिएका हुन्।

त्यसैले, सुनिता र बालेनले जिते भने यिनीहरुले महानगरपालिका कसरी चलाउन सक्लान्? अहिले उठिरहेको यो प्रश्न बालेन र सुनिता दुवैजनातिर सोझिइरहेको छ।

स्वतन्त्रको स्वतन्त्रता!-हाम्रो संविधानले देशको प्रधानमन्त्री हुनका लागि सामान्यतः कुनै पार्टीको संसदीय दलको नेता हुनुपर्ने परिकल्पना गरेको छ। यतिसम्म कि संवैधानिक परिषदको सदस्य बन्नका लागि पनि ‘विपक्षी दलको नेता’ नेता हुनुपर्ने संविधानमा परिकल्पना छ।

स्वतन्त्र व्यक्ति चुनाव लडेर सांसद बन्न सक्छ, मन्त्री पनि बन्न सक्छ। तथापि धारा ७६ को (७) बाहेक अन्य स्थितिमा स्वतन्त्र सांसद प्रधानमन्त्री बन्ने परिकल्पना अहिलेको दलीय प्रणाली र संविधानमा छैन। संघीय संसदमा जस्तै प्रदेशमा पनि यही कुरा सत्य हो।

तर, स्थानीय तहको नेतृत्व गर्न राजनीतिक दलको नेता नै हुनुपर्छ भन्ने कुनै जरुरी छैन। स्वतन्त्र व्यक्ति स्थानीय तहको उम्मेदवार बन्न सक्छ र जितेर पाँच वर्षसम्म मज्जाले स्थानीय सरकार चलाउन सक्छन्। स्वतन्त्र नागरिकलाई चुन्ने मात्र होइन, चुनिने पनि अधिकार छ।

त्यसो त संघ र प्रदेशमा पनि स्वतन्त्र नागरिकले चुनाव लडेर जित्न र संसदमा जान पाइन्छ। मन्त्री बन्न पनि पाइन्छ। दलहरुले सहमति जनाएमा प्रधानमन्त्री बन्न पाइँदै पाइँदैन भन्ने पनि छैन, संसदको बहुमतले चाहेमा त्यो पनि हुन सक्छ। संसदीय व्यवस्थाको मान्यता नै के छ भने संसदले महिलालाई पुरुष र पुरुषलाई महिला बनाउने बाहेक अर्थोक सबै गर्न सक्छ। संविधान पनि बदल्न सक्छ।

राजनीतिक दलहरुको सरकारले बदमासी गर्यो भने सरकार ढाल्ने र अर्को बनाउने भूमिका पनि स्वतन्त्र सांसदले खेल्न पाउँछन्। स्वतन्त्र सांसदको मत दलीय सांसदको मतसँग बराबरी नै हुन्छ, कमबेसी हुँदैन।यस अर्थमा स्वतन्त्र व्यक्तिको स्वतन्त्रतालाई दलीय संकुचनले छेक्न, रोक्न सक्दैन।

दलका कार्यकर्ताहरुको चिन्ता के देखिन्छ भने यसैगरी बालेनजस्ता स्वतन्त्रहरुले चुनाव जित्दै गए भने दलहरुको के काम? दलीय व्यवस्थाको के काम? यसले त निर्दलीय व्यवस्थालाई पो फाइदा पुग्ने हो कि? प्रकारान्तरले राजावादीलाई पो फाइदा पुग्ने हो कि? यसरी समाजमा जोसुकै फुत्त निस्केर चुनाव जित्दै जाने हो भने अस्थिरता पो आउने हो कि?

यस्ता प्रश्न गर्नेहरु पुरातनपन्थी एवं ‘सिमेन्टेड’ विचार बोकेका मानिसहरु हुन्। एउटा व्यक्तिसँग चुनाव लड्न नसक्ने वा डराउने राजनीतिक दलले समाजको नेतृत्व कसरी गर्ला? एउटा व्यक्तिजति पनि लोकप्रिय हुन नसक्ने पार्टीका नेता कार्यकर्ताहरुले समाजको युवा पुस्तालाई आशा र भरोसा कसरी जगाउन सक्लान्?

त्यसर्थ, चुनावी मैदानमा उत्रेका गैरदलीय व्यक्तिसँग पार्टीका नेता–कार्यकर्ताहरु डराउनु वा तर्सिनु भनेको उनीहरुको असफलता बाहेक अर्थोक केही पनि होइन। यो ठूला भनिएका दलहरुको निरीहता र असफलता हो।

‘राजा’ मरिसकेपछिको पुस्ता-बालेनको उदय कसरी भयो? यसको समाजशास्त्रीय, राजनीतिशास्त्रीय पक्ष के हो? के बालेनको उदय फुत्त एकैपटकमा कसैले उचालेर भएको हो? कि यसका पछाडिको कुनै ‘सामाजिक इञ्जिनियरिङ’ ले पनि काम गरेको छ? यो प्रश्नमाथि राजनीतिक विश्लेषकहरु पस्नै सकेका छैनन्। किनभने उनीहरुले काठमाडौंको यो भित्री वहावको पत्तो नै पाउन सकेका थिएनन्।

कांग्रेस, एमाले, माओवादीलगायतका पार्टीहरुले आपसमा झगडा गर्दै जनताप्रति जसरी गैरजिम्मेवार भूमिका खेलिरहेका थिए, यिनको दिक्कलाग्दो क्रियाकलापलाई चुनौती दिने कुनै राजनीतिक विकल्प निस्कन सकेको थिएन, छैन।

रवीन्द्र मिश्र, बाबुराम भट्टराई, राजेन्द्र लिङ्देन आदिले ऐनमौकामा विभिन्न विकल्पको कुरा गरे पनि जनताले उनीहरुमाथि भरोसा गर्न सकेनन्। अहिलेको स्थानीय चुनावले पनि उनीहरुलाई ‘टेस्ट’ गर्यो।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ‘कांग्रेस, एमाले र माओवादीबाट केही आश गर्नु भनेको साँढेको टाङमुनि बाल्टी थाप्नु’ जस्तै हो भन्ने भाषण गरे। तर, उनले विभिन्न ठाउँमा तिनै पुराना पार्टीसँग तालमेल गरे।

लिङ्देनले अहिलेको समस्याको विकल्प राजतन्त्रमा देखेका छन्। त्यसैले उनले राजतन्त्रको वकालत गरे। तर, राजतन्त्रप्रति काठमाडौंको युवा पुस्ताको खासै रुची देखिएन। देखिएको भए राजधानीमा मदनदास श्रेष्ठको पक्षमा भोट धेरै खस्नुपर्ने थियो, बालेनको पक्षमा खस्ने थिएन।

गणतन्त्रका पक्षधर विवेकशील पार्टीका उज्ज्वल थापाले नेपाल बन्दको विरोध गरेर सुरु गरेको सिर्जनात्मक अभियानले केही गर्ला जस्तो आशा जगाएको थियो, उनलाई कोरोनाले लग्यो।

रवीन्द्र मिश्रले युवा पुस्ताको स्पन्दन र ‘राइटिङ अन द वाल’ ठम्याउन सकेनन् र उनी राजेन्द्र लिङ्देनकै जस्तो दक्षिणपन्थी विकल्पतर्फ मोडिए। उज्ज्वल थापाले दीक्षित गरेको विवेकशील पुस्ता गणतन्त्र र नागरिक सर्वोच्चताको पक्षपाती थियो। यो पुस्ताले रवीन्द्र मिश्रलाई रुचाएन, बालेन शाह खोज्यो। त्यही विवेकशील समेतको समर्थनमा बालेनको उदय भएको हो।

लिङ्देन र मिश्रहरुले अहिलेको दलीय अव्यवस्थाको विकल्प राजा हुन् भन्न खोजे पनि अहिलेको पुस्ताले ज्ञानेन्द्र र पारस शाहलाई हेरेर वाक्क मानिसकेको छ। त्यसैले यो पुस्ता ‘राजा आऊ देश बचाउ’ भन्ने पक्षमा देखिँदैन। बरु आफैं राजनीतिमा अघि सरेर देश बचाउने पक्षमा छ। अहिलेको पुस्ताले बंश–व्यवस्थामा भन्दा आफैं राजनीतिमा जानेखालको नागरिक सर्वोच्चतामा विश्वास गरेको देखिन्छ। यो सकारात्मक मात्र होइन, स्वागतयोग्य पनि हो।

यस्तो पृष्ठभूमिमा न कांग्रेस, न कम्युनिष्ट, न राजावादी। बरु आफैं ‘राजा’ हुने बाटोमा अहिलेको पुस्ता उभिन थाल्यो। र, यही विचारधाराको आलोकमा उदाए बालेन शाह। अहिलेको पुस्ताले गाएको र्याप भाइरल बनेको बुढो पुस्तालाई पत्तै छैन–

‘दूरदर्शी बालेन दाइको चमत्कारी कल्पना,भोट हाल्न रेडी म र मेरो साथी कल्पना,इन्टु मिन्टु हैन मेरो बाउ छैन पल्टनमा

पक्ष विपक्ष चपाइदिन्छु एकै पल्टमा,खेल्ने भए आए हुन्छ र्यापकाे जुहारी,राजा मारिसकें मै हुँ राजकुमारी।’

बालेन शाहले मेयर कसरी चलाउलान्?-यो सामग्री तयार पार्दासम्म मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ८ हजार मत पाएका छन्। कुल ३ लाख २४२ मतदाता रहेको काठमाडौं महानगरमा ६४ प्रतिशत मत खसेको छ।

१ लाख ८९ हजार ४२० भोट गन्नुपर्ने भएकाले अहिले नै बालेनले नै जित्छन् भनिहाल्न नसकिएला। तर, अग्रताको बढोत्तरी र वडाहरुको मतकाे स्थिति हेर्दा उनको जितको सम्भावना बढ्दै गएको छ।

बालेन एक्लै भएकाले उनले महानगर चलाउन सक्दैनन् भन्ने प्रश्न पुरानो र विकृत मानसिकता हो। एक्लै भएको भए उनले महानगरपालिकामा कसरी जित्छन्। महानगरमा काँग्रेस र एमालेलाई हराउन सक्ने व्यक्ति एक्लै छ भन्ने नै भ्रम हो।

जनताको बहुमत पाएर बालेन र सुनिताले जिते भने दुई युवाले मिलेर राजधानीको मुहार फेरिदिन सक्छन्।बालेन एक्लो हुने हैन, कांग्रेस र एमालेका नेताले आगामी संसदीय चुनावमा बालेनसँग सहयोग माग्न दौडनुपर्ने अवस्थाचाहिँ आउन सक्छ।

यो सामान्य परिघटना होइन-काठमाडौंमा बालेनको उदय नेपाली राजनीतिको सामान्य एवं नियमित परिघटना होइन। यो नियमित आकस्मिकता हो। र, यसको सकारात्मक सन्देश देशभर फैलनेवाला छ। बालेनका कारण नयाँ पुस्ताले राजनीतिमा चासो बढाउने छ। युवा पुस्ता राजनीतिमा आयो भने आशा गरे हुन्छ, अब देश बन्छ।

हुन त बालेन पनि यही समाजका उत्पादन हुन्। हाम्रो देश र समाजको चेतनास्तर सबैलाई थाहै छ। हर कुरामा चर्को राजनीतिकरण छ। भोलि बालेनलाई फोहोर उठाउने कर्मचारी युनियनले हड्ताल गरिदिएर असफल पारिदिने खेल पनि हुन सक्छ। महानगरका कर्मचारीले असहयोग गरिदिन सक्छन्।

बालेनलाई कांग्रेस, एमाले वा राप्रपाले आफ्नो दलको टिकट कटाउन सक्छन्। बालेनले पनि पार्टी खोल्न सक्लान्। अथवा उनी भित्रैबाट असक्षम सावित हुन पनि सक्लान्। किनभने बालेन देवदूत हैनन्, मानिस नै हुन्।

यी चुनौतीहरु सामुहिक बुद्धि बर्कतका आधारमा समाधान गरे भने बालेनले अहिले चुनावअघि जसरी जादु चलाए, चुनावपछि पनि जादु नचलाउनलान् भन्न सकिँदैन।

बालेनको उदयले आज मधेस पनि औधि खुशी र गौरवान्वित बनेको छ। काठमाडौंबाट हेपिएको महसुस गरिरहेको मधेसले आफ्नो भूमिपुत्रलाई काठमाडौंको ‘नायक’ बनेको हेर्न पाउँदा गौरवान्वित नहुने कुरै भएन।अन्त्यमा, अहिले बालेनमाथि शंका गर्नुभन्दा देश निर्माणमा यो उर्जालाई सकारात्मकरुपमा बहन दिनु राम्रो होला कि?

बालेनका समर्थकहरु चुनावअघिसम्म मौन थिए। मतगणनाका बेला उनीहरुले राष्ट्रिय सभागृह अगाडि र्यापकै शैलीमा चर्को नारा लगाउँदै देशको ठूलो पार्टीमाथि प्रश्न उठाए–‘देखिस् क्यारे एमाले,जनताले भोट कहाँ हाले?’नेपाल खबर बाट

Leave a Reply

Your email address will not be published.