रमेश खरेलको पार्टीले पनि पर्साबाट खोल्यो खाता

राजनिति

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजीपी रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीले पर्साबाट खाता खोलेको छ। पर्साको पोखरिया नगरपालिकाको ९ नम्बर वडामा सुशासन पार्टीका वडाध्यक्षका उम्मेदवार नौसाद आलम विजयी भएका छन्।आलम ८ सय ७७ मत ल्याएर वडाध्यक्ष पदमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रामबाबुप्रसाद चौहानले ६ सय ८७ मत ल्याए।

पोखरिया नगरपालिकाको प्रमुखमा पनि सुशासन पार्टीले नकेपा एमालेलाई पछ्याइरहेको छ। एमालेका उम्मेदवार प्रदुमनप्रसाद चौहानले २ हजार ९ सय ५७ मत ल्याएका छन्। २ हजार २ सय १६ मत ल्याएर सुशासन पार्टीका शंकर राउत अहिरले उनलाई पछ्याइरहेका छन्।

याे पनि-अहिलेसम्म दुई सय ४६ पालिकाको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक मत परिणाम अनुसार कांग्रेस सबैभन्दा अगाडि रहेको छ । नेपाली कांग्रेसले १ सय १४ वटा पालिकाको प्रमुख जितेको छ ।

त्यस्तै एमालेले ६८ वटा र माओवादी केन्द्रले ५३ वटा पालिकाको प्रमुख जितेको निर्वाचन आयोगको विवरण छ । एकीकृत समाजवादीले ४, स्वतन्त्र तथा अन्य दलले गरी ७ वटा पालिकामा प्रमुख जितेका छन् ।

उपप्रमुख/उपाध्यक्ष-उपप्रमुख तथा उपाध्यक्षमा पनि कांग्रेस अगाडि छ । कांग्रेसले एक सय ७ पालिकाको उपप्रमुख तथा उपाध्यक्ष जितेको छ । एमालेले ६९, माओवादी केन्द्रले ५४, एकीकृत समाजवादीले ८ र अरु दल तथा स्वतन्त्रले ८ वटा पालिकामा उपप्रमुख/उपाध्यक्ष जितेकाे आयोगले जनाएको छ ।

वडाअध्यक्ष-मत परिणाम सार्वजनिक भएका पालिकामध्ये सबैभन्दा धेरै नेपाली कांग्रेसले १४ सय ६ वटा वडामा अध्यक्ष जितेको छ । त्यस्तै एमालेले ११ सय ४३, माओवादी केन्द्रले ६४४, एकीकृत समाजवादीले ९२ र स्वतन्त्र तथा अन्य दलले २९३ वटा वडामा अध्यक्ष जितेका छन् ।

Leave a Reply

Your email address will not be published.