एमाले अध्यक्ष ओली अचानक बिरामी, कस्तो छ स्वास्थ्य अवस्था ?

समाचार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरामी भएका छन् । उनको स्वास्थ्यमा समस्या आएसँगै उनी मंगलबार अपराह्न संसद बैठकमा सहभागी भएनन्।

केही दिनयता ज्वरोले सताएका कारण उनी संसदमा आउन नसकेका उनको सचिवालयले जनाएको छ । चुनावी दौडधूपमा कारण ओली वैशाख २७ गतेदेखि नै अस्वस्थ रहेको नेकपा एमालेका एक नेताले बताए ।

धपेडीका कारण सामान्य ज्वरो आएको र आजचाहिँ अलि गाह्रो भएकाले बिहान अस्पताल लगिएको ओली निकट स्रोतले बतायो । अहिले घरमै आराम गरिरहेका र अवस्था अवस्था समान्य नै रहेको भन्दै एक नेताले धपेडीका कारण सामान्य ज्वरो मात्रै आएको बताए ।

स्थानीय तहको चुनावका बेला एमाले अध्यक्ष ओलीको सक्रियता अन्य नेताहरुको भन्दा धेरै देखिएको थियो । एकै दिन विभिन्न जिल्लाका धेरैवटा सभामा सहभागी हुने गरेका ओली चुनावअघिसम्म एकपटक पनि विसञ्चो भएनन् । ओलीको सक्रियता सबैका लागि उदाहरणीय देखिएको थियो।

यस्तै स्थानीय तह निर्वाचनको नजिता आउने क्रम चलिरहेको छ। अहिलेसम्म देशभरका ३२५ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भइरहेको छ।३२५ स्थानीय तहको अन्तिम नजिता सार्वजनिक हुँदा एमालेले एकसय स्थानीय तहमा जित निकालेको छ। कांग्रेस एमालेको भन्दा ४० वटा बढी स्थानीय तहमा विजयी भएको छ। कांग्रेसले अहिलेसम्म एक सय ४० स्थानीय तह जितेको छ।

अग्रता पनि कांग्रेसकै बढी छ। कांग्रेस मतगणना चलिरहेका १७० स्थानीय तहमा अगाडि छ भने एमाले १०१ स्थानीय तहमा अगाडि छ। अहिलेसम्म ७० स्थानीय तह जितेको माओवादी केन्द्र ४६ स्थानीय तहमा अगाडि छ।

चार स्थानीय तहमा विजयी भएको नेकपा एकीकृत समाजवादी १७ पालिकामा अगाडि छ भने ३ स्थानीय तहमा विजयी भएको जसपा २९ स्थानीय तहमा अघि छ। त्यसैगरी स्वतन्त्र उम्मेदवारले अहिलेसम्म ४ स्थानीय तह जितेका छन्।

मतगणना चलिरहेको कैलालीको धनगढी उपमहानगरपालिका, महोत्तरीको बर्दिबास नगरपालिकासहितका केही स्थानीय तहमा स्वतन्त्र उम्मेदवार अघि छन्। अहिलेसम्म एउटा पनि स्थानीय तह जित्न नसकेको लोसपा मतगणना चलिरहेका तराई मधेशका १० स्थानीय तहमा अगाडि छ।

Leave a Reply

Your email address will not be published.