भरतपुरमा मतान्तर बढाउँदै रेनु दाहाल, १४ सय मतकाे अग्रता !

समाचार

चितवन । भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवारको मन्तान्तर बढ्दै गएको छ । गठबन्धनबाट प्रमुख पदका उम्मेदवार बन्नुभएकी नेकपा(माओवादी केन्द्र)का रेनु दाहाल र नेकपा (एमाले)का विजय सुवेदीबीचको मतान्तर एक हजार ३९३ पुगेको छ ।

दाहाल ९ हजार ५४२ मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने सुवेदी ८ हजार ८७ मतका साथ पछ्याइरहनुभएको छ । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल ४ हजार ३१५ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ । उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार ३८२ र राप्रपाका हिमला गुरुङले ६ हजार ५९३ मत प्राप्त गर्नुभएको छ ।

हाल भरतपुर महानगरपालिका–६ को मतगणना जारी छ । वडाध्यक्षमा गठबन्धनका तर्फबाट कांग्रेसका कृष्णलाल श्रेष्ठ दुई हजार ६१ मत र नेकपा (एमाले)का डोलनारायण अधिकारीले एक हजार ७६१ मत प्राप्त गर्नुभएको छ । यसअघि महानगरको वडा नं १, २, ४ र ५ को वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निर्वाचित हुनुभएको छ भने वडा नं ३ मा एमालेका वडाध्यक्ष निर्वाचित हुनुभएको छ ।

भरतपुर महानगर पालिकामा १ लाख २७ हजार ८३९ मत खसेको छ ।यस्तै जिल्लाको माडीको प्रमुखमा एमालेले जित हासिल गरेको छ । इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकामा एमाले एवं रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा पाँचदलीय गठबन्धनको अग्रता कायम छ ।

Leave a Reply

Your email address will not be published.