चितवनमा भीषण हावाहुरीका कारण ३ जनाको मृ<त्यु, नारायणी पुलका विद्युत पाेल भाँचिए

समाचार

चितवन । चितवन भीषण हावाहुरीसहित आएको पानीले तीन जनाको मृत्यु भएको छ । हावाहुरीले रुख ढल्दा च्यापिएर ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भरतपुर–११ को भोजाडमा अटोमा सवार २ जना र बसेनीमा म्याजिकमा सवार १ जनाको च्यापिएर ज्यान गएको छ ।

भरतपुर महानगरपालिका ११ भोजाड जंगलस्थित भित्री सडक खण्डमा पदमपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना २ ह २२४७ नम्बरको अटोलाई रूख ढलेर च्याप्दा भरतपुर ११ लामाटोल बस्ने वर्ष ५० का प्रदीपकुमार लामा र अटोमा सवार हाल नामथर वतन नखुलेकी अन्दाजी ५०÷५१ की महिलाको घट्नास्थलमा नै मृत्यु भएको हो ।

अटोमा सवार अबिता गुरुङ र तुलमाया गुरुङ सामान्य घाइते भएका छन् । उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।

यस्तै हावा हुरीको कारण रूख ढल्दा भरतपुर महानगरपालिका ११ बसेनी चोकमा बिशाल चोकबाट बसेनीतर्फ जाँदै गरेको ना १ ज ६१४० नम्बरको म्याजिकलाई किच्दा म्याजिकमा सवार भरतपुर ११ बस्ने वर्ष ४८ को लोकनाथ न्यौपानेको घटनास्थलमा नै मृत्यु भएको घिमिरले बताए । भीषण हावाहुरीले नारायणी नदीको पुल माथि रहेका सबै बिजुलीका सबै पोल भाँचिदिएको छ । नारायणगढदेखि गैंडाकोटसम्मका पुलमाथि रहेका सबै पोल भाँचिएका छन् ।

पोल नारायणी नदीतर्फ झुन्डिएको अवस्थामा छन् । पोलहरू ढल्दा रेलिङसमेत भाँचिएको छ । अकस्मात आएको हावाहुरीले गुडिरहेको ट्रकलाई नारायणी पुल माथि नै लडाइदिएको थियो ।

पुलमा रहेको बारले गर्दा ट्रक नदीमा खस्नबाट जोगिएको प्रहरीले जनाएको छ। ट्रक लडेपछि केहीबेर पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध बनेको थियो । क्रेनको सहायताले ट्रकलाई उठाएपछि राजमार्ग खुलेको छ ।

Leave a Reply

Your email address will not be published.