७०३ पालीकाको नतिजा सार्वजनिक : कांग्रेस ३११ पालिका जित्दै पहिलो, अरु कुन दलले कति पालीका जिते ?

समाचार

‘स्थानीय तह निर्वाचन २०७९’ को मत परिणाम अन्तिम चरणमा पुगेको छ । पछिल्लो देशभरका ७५३ वटा स्थानीय तह मध्ये ७ सय ३ पालीकाको मत परिणाम सार्वजनिक भैसकेको छ । पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबिच नै मुख्य प्रतिस्पर्धा छ ।

नतिजा सार्वजनिक भएका पालीका मध्ये काँग्रेस अग्र स्थानमा देखिएको छ । नेकपा एमाले र माओवादी केन्द्र क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । काँग्रेसले ३ सय ११ पालीकाको प्रमुख /अध्यक्ष जितेको छ भने १५ स्थानमा अग्रता कायम गरेको छ । उपप्रमुख/उपाध्यक्षमा पनि काँग्रेस सबै भन्दा धेरै २ सय ८४ स्थानमा जितसँगै १५ स्थानमा अगाडी छ ।

यस्तै एमालेले १९० पालीका प्रमुख/अध्यक्ष पदमा जित हात पारेको छ भने १६ स्थानमा अग्रता बनाएको छ । उसले उपप्रमुख/उपाध्यक्षमा २ सय १८ स्थानमा विजय प्राप्त गर्दै २१ स्थानमा अग्रता लिएको छ । ११९ स्थानीय तहको प्रमुख/अध्यक्ष पदमा विजय प्राप्त गरेको माओवादीले भने २ स्थानमा अग्रता बनाएर एमालेलाई पच्छ्याइरहेको छ । तेस्रो स्थानमा रहेको माओवादीले १२४ पालीकाको उपप्रमुख/उपाध्यक्ष विजय हासिल गरेको छ भने ४ स्थानमा अग्रता बनाएको छ । यता नेकपा एकीकृत समाजवादीले पालीका प्रमुख/अध्यक्ष पदमा १७, जसपा २७, लोसपा ११ र अन्य बागी तथा स्वतन्त्र उम्मेदवारहरूले २८ स्थानमा जित हात पारेका छन् ।

भरतपुरमा रेनुको सात हजार मतान्तरको अग्रता

चितवन । भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनको नेकपा (माओवादी केन्द्र)बाट उमेदवार बनेकी रेनु दाहालले सात हजार ४१५ मतान्तरले अग्रता लिएकी छन् ।

८९ हजार ५०८ मतगणना गर्दा उनले ३५ हजार ९८ मत प्राप्त गरेकी छन् । नेकपा (एमाले)का विजय सुवेदीले २७ हजार ६८३ मत प्राप्त गरेका छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ११ हजार ८३५ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का हिमला गुरुङभन्दा १५ हजार ४२६ मतान्तरले अग्रता लिएका छन् । अधिकारीले ३७ हजार ३२६ मत प्राप्त गर्दा गुरुङले २१ हजार ९०० मत प्राप्त गरेकी छन् ।

भरतपुर महानगरमा हालसम्म १ देखि १७ नम्म्बर वडासम्मको गणना सम्पन्न भइसकेको छ । अहिले अन्य वडाको मतगणना जारी रहेको छ । यस पालिकामा २९ वटा वडा रहेको छ । स्थानीय तह निर्वाचन २०७९ मा यहाँ एक लाख २७ हजार ८३९ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published.