पार्टीले पत्याएन, मतदाताले जिताए

राजनिति समाचार

जनकपुरधाम : मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिकामा राजनीतिक दम देखाउने सबै दलको जोडबल हुन्छ। ठूला भनिएका र मधेस केन्द्रित दलको प्रतिष्ठाको लडाइँ यहीँ चल्छ। स्थानीय निर्वाचनमा पनि त्यस्तै भयो। तर, बाजीमारे स्वतन्त्र उम्मेदवार मनोज साहले। तर, उपमहानगर हाँक्ने उनको आँट भने यो पहिलो होइन।

२०७४ सालको निर्वाचनमा पनि उनी उम्मेदवार बने। तर, पराजित बने। सो समय उनी कांग्रेसबाट उम्मेदवार थिए। राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार लालकिशोर साहसँग त्यस समय पराजित भए। लालकिशोरले ११ हजार ६ सय ३८ मत बढी ल्याएर साहलाई चुनाव हराएका थिए।

उनको जनकपुर उपमहानगरपालिकाको नेतृत्व गर्ने धित अझै मरेन। यसपटक पनि पार्टीलाई टिकट दिन मनाए। हार बेहोरेको चार वर्ष मेहनत गरेर जित्ने अवस्था रहेको पार्टीमा बुझाए। तर, राजनीतिक वातावरण फेरियो। गठबन्धनका कारण उनी मेयर पदमा उठ्ने अवस्था आएन। कांग्रेसको नगर कमिटी र जिल्ला कमिटीले समेत उम्मेदवारको रूपमा उनलाई सिफारिस गरेको थियो। तर, पाँच दलीय गठबन्धनले जसपालाई मेयर दिने निधो गयो। कांग्रेसले मेयरमा उम्मेदवारी दिन पाएन। कुनै जोडबलले नभ्याएपछि उनले ३४ वर्ष कांग्रेसमा गरेको योगदानलाई तिलाञ्जली दिए। पार्टीमा बिद्रोह गरे। राजीनाम दिए र स्वतन्त्र उम्मेदवार बने।

अन्ततः नागरिकले पनि गठबन्धन उम्मेदवारभन्दा उनलाई नै मन पराए। घण्टाघर चुनाव चिह्नमा १३ हजार ४ सय ६५ मत दिएर विजयी गराए। उनका नजिकका प्रतिस्पर्धी उम्मेदवारभन्दा ३ हजार ९ सय ३३ मत बढी मत प्राप्त गरे। दोस्रो स्थानमा नेकपा एमालेका शिवशंकर साह हिराले ९ हजार ५ सय ३२ मत मात्रै पाएर उनलाई भेटाउन सकेनन्।

तेस्रो स्थानमा पुगेका लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार मनोजकुमार चौधरीले ५ हजार ३ सय ६० मत मात्रै पाए। पाँच दलीय गठबन्धनका उम्मेदवार बनेका जसपाका निवर्तमान नगरप्रमुख लालकिशोर साह त यसपटक ५ हजार १ सय ९४ मतमा खुम्चन पुगे। उपप्रमुखमा गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार किशोरी साहलाई नागरिकले चुने। उनको १५ हजार ५ सय २५ मत आयो। निकटतम प्रतिस्पर्धी एमालेकी रुना झाले १० हजार ८ सय ८५ मत ल्याइन्। स्तन्त्र उम्मेदवार साहले निर्वाचनको क्रममा २१ बुँदे घोषणापत्र जारी गरेका थिए। जनकपुरको प्रमुख समस्या फोहोरमैला व्यवस्थापनदेखि लामखुट्टे नियन्त्रण र छाडा चौपायालगायतको व्यवस्थापन मुख्य योजनामा समेटियो। त्यसले नै नागरिकको मन जितेको थियो।

स्वतन्त्रको जितको पुनरावृत्ति
मेयरमा साह निर्वाचित भएसँगै जनकपुरमा कांग्रेसका विद्रोही स्वतन्त्र उम्मेदवार जितेको इतिहास पुनरावृत्ति भएको छ। नेपाल राज्य नगरपालिका ऐन, २००९ बमोजिम तत्कालीन पञ्चायत सरकारले २०१७ जेठ १३ गते जनकपुरलाई नगरपालिका घोषणा गरेको थियो। सो बेला नगर प्रमुखभन्दा पनि चेयरमेन बनाउने चलन थियो। जनकपुर नगरपालिकाको पहिलो चेयरमेनमा श्यामसुन्दर शर्मा नियुक्त गरिएका थिए। तत्कालीन राजा महेन्द्रले २०१७ पुस २२ गते नेपालमा पञ्चायती व्यवस्था लागू गरे।

त्यसपछि जनकपुर नगरपालिकाको नाम जनकपुर नगर पञ्चायत भयो। २०४६ सालको आन्दोलनपछि प्रजातन्त्र पुनर्बहाली हुँदा २०४७ जेठ २८ गते नगरपालिका ऐन, २०४७ लागू भयो। जनकपुरधाम आधिकारिक रूपा नगरपालिका बन्यो।

२०४९ सालमा पहिलो पटक जनकपुर नगरपालिकाको निर्वाचन भएको थियो। सो बेला नगरप्रमुख पदका लागि नेपाली कांग्रेसभित्र दिगम्बर राय र वृषेशचन्द्र लाल आकांक्षी थिए। दिगम्बर रायले पार्टीबाट प्रमुखको टिकट पाएपछि वृषेशचन्द्र लालले विद्रोह गरे।

उनी कांग्रेसको बागी बनेर प्रमुखमा उम्मेदवारी दिएका थिए। लालसँगै निवर्तमान नगरप्रमुख लालकिशोर साहले पनि कांग्रेसकै बागी भएर उपप्रमुख पदको उम्मेदवारी दिए। र, दुवैजना विजयी भएका थिए। पाँच वर्षपछि २०५४ सालमा भएको अर्को स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका बजरंजप्रसाद साह प्रमुखमा निर्वाचित भएका थिए। नेपालमा संघीयताको प्रवेशपछि २०७४ मा भएको स्थानीय निर्वाचनमा राजपा नेपालबाट लालकिशोर साह र उपप्रमुखमा रीताकुमारी मिश्र विजयी भएकी थिइन्।

Leave a Reply

Your email address will not be published.