धरानका मेयर जब झाडु लिएर सडकमा उत्रिए…

राजनिति

धरान : धरानलाई सफा र सुन्दर सहर बनाउने अभियान सुरु गरेका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (सम्पाङ) आफै झाडु लिएर सडक सरसफाइ अभियानमा जुटेका छन् ।

धरानमा मुसलधारे वर्षा रोकिने वित्तिकै बिहीबार मेयर राईले धरानको मुख्य बजार रहेको भानुचोक र बसपार्क क्षेत्रको सरसफाइ गरे।

मेयर आफैं झाडु लिएर बजार सरसफाइमा निस्किएपछि उनलाई उपमहानगरपालिकाका सफाइ कर्मचारी, नगर प्रहरी, स्थानीय बासिन्दा र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले साथ दिए । सफा र सुन्दर सहरको पुरस्कार पाउने धरान पछिल्लो समय दुर्गन्धित हुँदै गएपछि आफूले सरसफाइ अभियान संचालन गरेको मेयर राईले बताए ।

मेयर साम्पाङले भानुचोकको सार्बजनिक शौचालयको समेत निरीक्षण गरेका थिए । उनले सार्वजनिक शौचालय आसपासमा समेत दुर्गन्ध फैलिएको भन्दै आइन्दा फोहोर नगर्न कर्मचारीलाई निर्देशन दिएका छन् । उनले बसपार्कमा जथाभावी फोहोर नफाल्न यातायात मजदुरलाई आग्रह गर्दै धरानलाई सधै सफा राखे यहाँ आउने पर्यटकहरुले आहा! धरान भनेर प्रंशसा गर्न लायकको बनाउन धरानबासीलाई आग्रह गरे।

बुधबार धरानको सर्दु खोलामा रहेको खानेपानीको मुहान मर्मत गरी पानी वितरण व्यवस्थित बनाउन खटिएका मेयर राईले कुर्सीमा बसेरभन्दा फिल्डमा खटेर धरानको समस्या समाधान गर्न आफू निरन्तर लागिरहने बताए ।

उनले कुर्सीमा बसेर धराने जनताको समस्या हल नहुने भन्दै धरानका २० वटै वडामा पालो मिलाएर जनसरोकारका विषयको अनुगमन गर्ने बताए ।

मेयर साम्पाङले नगरपालिकामा बसेरभन्दा दैनिक प्रत्येक सडकको अवलोकन गर्ने र खाल्डाखुल्डी भेटिए तत्काल मर्मत गरी यातायातका साधन संचालनमा सहज पुर्‍याउने बताए।

जनसरोकारका विषयमा मेयर आफै खटिएपछि धरानको विकासमा आमुल परिवर्तन हुने धरानवासीले अपेक्षा गरेका छन् । धरान १५ का यातायात व्यवसायी देवेन्द्र कार्कीले धरानका मेयरको कामले धरानवासीमा आशा पलाएको बताए ।

‘यस अगाडिका जनप्रतिनिधिहरु आर्थिक अनियमितताका घटनामा मुछिएका थिए । तर, धरानमा नयाँ मेयर आएपछि धरानको विकास र समृद्धिले नयाँ फड्को पार्नेमा आशावादी छौं,’ कार्कीले भने ।

Leave a Reply

Your email address will not be published.