२३४२६ मतको फराकिलो अन्तर सहित काठमाडौंको मेयरमा बालेन साहको अभूतपुर्व जीत

राजनिति

काठमाडौं । स्वतन्त्र तर्फका चर्चित उम्मेदवार बालेन्द्र साह (बालेन) काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको छ ।

उहाँले २३४२६ मतको फराकिलो अन्तरका साथ जीत हासिल गर्नुभएको हो । उहाँ र्‍यापर तथा स्ट्रक्चरल इन्जिनियर समेत हो ।महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिनुभएका बालेनले बलियो जनसंगठन भएका कांग्रेस र एमालेका उम्मेदवारहरूलाई हराउँदै अभूतपुर्व नतिजा सहित मेयरमा विजयी हुनुभयो ।४६ सालपछि काठमाडौं महानगरमा स्वतन्त्र व्यक्ति मेयर बनेको पहिलोपटक हो ।

भर्खरै प्रकाशित मत परिणाम अनुसार बालेनले कुल मत ६१७६७ ल्याउनुभएको छ । दोस्रो स्थानमा रहनुभएकी कांग्रेस उम्मेदवार सिर्जना सिंहले ३८३४१ भोट ल्याउनुभयो । एमालेका उम्मेदवार केशव स्थापित ३८११७ मतका साथ तेस्रो स्थानमा चित्त बुझाउन बाध्य हुनुभयो ।

अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले पनि १० हजार भोट कटाउन सफल हुनुभयो । १३७७० भोटका साथ उहाँ चौथो स्थानमा पुग्नुभयो भने राप्रपाका मदनदास श्रेष्ठ ५७७० मत ल्याएर पाँचौ स्थानमा रहनुभयो ।मेयरमा विजयी बालेन काठमाडौंको वडा नम्बर ९ को स्थायी बासिन्दा हुनुहुन्छ । उहाँ तीनकुने, गैरिगाउँमा बसोबास गर्नुहुन्छ ।

मधेसी मुलका बालेनको पुरानो घर भने महोत्तरी जिल्लामा छ । काठमाडौंको मेयर बन्ने उहाँ पहिलो मधेसी मुलका नागरिक हुनुहुन्छ । यसैगरी उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी हुनुभएको छ ।

Leave a Reply

Your email address will not be published.