काठमाडौंमा गठबन्धनलाई पराजित गर्दै उमप्रमुख बनेकी सुनिता डङ्गोल को हुन् ?

राजनिति

काठमाडौं । काठमाडौँ महानगरपालिकाको नव निर्वाचित उमप्रमुख सुनिता डङ्गोल सांस्कृतिक तथा सामाजिक अभियन्ताका रूपमा परिचित हुनुहुन्छ ।

करिब एक दशकअघि मिस नेवाःको ताज पहिरन सफल उहाँ अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउने रञ्जना लिपिलाई नवीन सोचका साथ विश्वभरका नेपालीलाई सिकाउँदै आएकी एक लिपिगुरु पनि हुनुहुन्छ ।

उहाँ ‘लिपि क्विन’को उपनामले समेत परिचित हुनुहुन्छ । उहाँले विश्वभरका नेपाली तथा विदेशीलाई भर्चुअल प्रविधिबाट लिपि र नेपाल भाषा सिकाउँदै भाषा र लिपिको संवद्र्धन र प्रवद्र्धन गर्दै आउनुभएको छ ।

यसअघि उहाँले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ । नेपाल टेलिभिजनमा शैक्षिक कार्यक्रमसमेत सञ्चालन गर्दै उहाँले पछिल्लो समय कामपाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यको विज्ञका रूपमा समेत काम गर्नुभएको थियो ।

उहाँले सडक आश्रित मानवमुक्त महाअभियानमा समेत नेतृत्वदायी भूमिका निभाउनुभएको थियो । जापान, कोरिया, जर्मनीलगायत करिब एक दर्जन मुलुकहरूको भ्रमण गरी नेपालको संस्कृतिलाई विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा प्रचार गर्दै आउनुभएकी डङ्गोल काठमाडौँ महानगरका आदिवासी हुनुहुन्छ । तीस वर्षीया डङ्गोलले आफूलाई भूगोल र भर्चुअल दुवैतर्फ उत्तिकै जानकार रहेको जनाउँदै युवाको जित र नागरिकको सहकार्यले मतदाताको मन जित्न सफल हुनेमा ढुक्क हुनुहुन्छ ।

उहाँले काठमाडौँको माटो र पानीलाई राम्रोसँग चिनेकाले विकासको काममा कमी नहुने र कला संस्कृतिको संरक्षण गरी पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने बताउनुभयो । नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँको १८ नगरपालिकासँग साझेदारी गरेर काठमाडौँ उपत्यका बाहिरका स्थानीय तहलाई पनि सिकाइ हुने गरी काम गर्ने उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.