मेरो हन्ड्रेड प्रसेन्ट क्षमता खर्चेर काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउन लगाउनेछु – बालेन

समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले आफ्नो सम्पूर्ण समय महानगरपालिकाको व्यवस्थापनका लागि दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मेयरमा निर्वाचित भएपछि प्रतिक्रपया दिंदै उहाँले अबको पाँच वर्ष आफ्नो क्षमता, ज्ञान र कुशलता काठमाडौंलाई पूर्ण विकासित र विश्वकै उत्कृष्ट सहर बनाउन लगाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘महानगरपालिकालाई मेरो सम्पूर्ण समय दिनेछु । महानगरपालिका बाहेक कुनै पनि काममा समय दिनेछैन’ उहाँले भन्नुभयो, ‘आफ्नो सम्पूर्ण क्षमता, लगनशीलता र ज्ञानलाई महानगरपालिका व्यवस्थित बनाउन, स्वच्छ, सफा र पूर्णविकसित विश्वकै उत्कृष्ट बनाउन लगाउनेछु ।’

नगरवासीले दिएको अत्यधिक मतले आफू एकदमै खुशी भएको प्रतिक्रिया दिंदै उहाँले नगरवासीको मतलाई ऊर्जाको रुपमा लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नगरवासीले हामीलाई यहाँ पुर्‍याउनु भएको छ । यो जिम्मेवारी दिनुभएको छ । यो जिम्मेवारीलाई हन्ड्रेड प्रसेन्ट मेरो पूर्ण क्षमतालाई यसमा दिनेछु ।’

Leave a Reply

Your email address will not be published.