बालेनको हिसाबले खायो फेल !

समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’को पहिलेको हिसाबले फेल खाएको छ । लौरो चुनाव चिह्नमा मेयर पदमा लडेका बालेनले ६१ हजार ७६७ मत ल्याएका छन्। बालेनले निर्वाचन हुनुअघि आफूले ९०८३५ मत ल्याएर मेयरमा चुनाव जित्ने घोषणा गरेका थिए । उनले पहिले जति मत ल्याएर विजयी हुन्छ भनेका थिए त्यो भन्दा २९,०६८ मत कम ल्याएका हुन् ।

तर, निर्वाचनमा आशातीत मत नखसेकाले बालेन ६१७६७ मत ल्याएर जित हासिल गरेका छन् । बालेनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा २३ हजार ४२६ मत धेरै ल्याएका छन्।

सिंहले ३८ हजार तीन सय ४१ मत ल्याएकी छन् । निर्वाचनमा आफ्नो कुनै प्रतिस्पर्धी नै नभएको दाबी गर्ने एमालेका एमालेका केशव स्थापित तेस्रो स्थानमा पुगेका छन् ।

उनले ३८ हजार ११७ मत पाएका छन्। सिर्जना सिंहले केशव स्थापितभन्दा २२४ मत मात्र धेरै ल्याएकी छन्। निर्वाचन आयोगको आधिकारिक वेबसाइटका अनुसार बिहीबार ३२ वटै वडाको मतगणना सकिएसँगै बालेन मेयर निर्वाचित भएका हुन्।

आँखीझ्याल चुनाव चिह्नमा लडेका स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७७० मत पाएका छन्। राप्रपा उम्मेदवार मदनदास श्रेष्ठले ५ हजार ७७० मत पाएका छन् भने विवेकशील साझाकी समीक्षा बास्कोटाले ६४७ मत पाएकी छन्।

उपमेयरमा एमालेकी सुनिता डंगोल विजयी भएकी छन्। उनले ६८ हजार ६१२ मत पाएकी छन्। उपमेयरमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका रामेश्‍वर श्रेष्ठले २३ हजार ८०६ मत पाए। उपमेयरमै आँखीझ्याल चुनाव चिह्न लिएर उठेकी स्वतन्त्र उम्मेदवार विद्या श्रेष्‍ठले १३ हजार ६९५ मत पाएकी छन् भने राप्रपाकी बिनिता मगैयाले १२ हजार १४१ मत पाइन्।

Leave a Reply

Your email address will not be published.