बारामा हवल्दारसहित ४ जना सशस्त्रविरुद्ध पक्राउ पूर्जी जारी

समाचार

बारा । सशस्त्र प्रहरीका एक जना वरिष्ठ हवल्दारसहित चार जना विरुद्ध बारा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।सशस्त्र प्रहरी वरिष्ठ हवल्दार अशोक साह सोनार, सहायक हवल्दार आत्माराम पटेल, सहायक हवल्दार रत्नसागर झा र सशस्त्र प्रहरी जवान सुनिल कुमार यादव विरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो ।

रकम दिएर भारतबाट हतियार मँगाएर दुई जना भारतीयलाई सशस्त्र प्रहरीले पक्राउ गरेको आरोपमा अनुसन्धान गर्न सशस्त्र प्रहरीको चार जना विरुद्ध पक्राउ पूर्जी जारी गरिएको बारा जिल्ला अदालतका श्रेस्तेदार नवराज जोशीले बताए ।

जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले हतियार काण्डमा नाम मुछिएपछी सशस्त्र प्रहरीका चार जनालाई बोलाएर एक पल्ट बयान लिएर हाजिरी जमानतमा छोडेको बताए । चार जना सशस्त्र प्रहरीले भारतीय नागरिक लालबाबु कुश्वाहालाई पैसा दिएर हतियार खरिद गराई दुई जना भारतीयलाई नेपाल बोलाएर हतियार सहिँत पक्राउ गरेको बयानबाट खुलेपछि उनिहरु विरुद्ध पक्राउ पूर्जी जारी भएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले गएको बैशाख २३ गते भारतको पूर्वी चम्पारणको लौखानका २३ वर्षीय पप्पु कुमार यादव र अखिलेश कुमार सिंहलाई सिम्रौनगढ नगरपालिका वडा नं.१० बाट बी.आर.०१.सी.१३६१ नं.को मोटरसाइकलमा सवार रहेको अवस्थामा दुई थान पेस्तोल र चार राउन्ड गोलीसहित पक्राउ गरेको थियो ।

पक्राउ परेका दुबै जना भारतीय युवकलाई सशस्त्र प्रहरीले हतियार खरिद गर्न पैसा दिएका भारतीय नागरिक लालबाबु कुश्वाहाले पठाएको बयानबाट खुलेको प्रहरी स्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी प्रवक्ता राजेश थापाले सशस्त्र प्रहरी बिभागका सुरक्षाकर्मीसँगै जोडिएको हातहतियार ओसारपसार सम्बन्धी मुद्दामा उनीहरुलाई पक्राउ गर्न बारा जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.