तारा एयरको जहाज खोज्न गएको सेनाको टोली मुस्ताङ नर्सिङ गुम्बामा अवतरण

समाचार

काठमाडौं । वेपत्ता भएको तारा एयरको जहाज खोजीका लागि गएको नेपाली सेनाको हेलिकोप्टर मुस्ताङको नर्सिङ गुम्बा भन्ने स्थानमा अवतरण गरेको छ ।

त्यहाँबाट नेपाली सेनाका १० जना र नेपाल नागरिक उड्डयन प्राधिकरणका दुई जनाको टोली मोबाइलको लोकेसन पत्ता लागेको तर्फ गएको नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरका अनुसार पैदलयात्राबाट पनि सेना र प्रहरीको टोली पनि परिचालन गरिएको छ । काठमाडौंबाट हिमालयन रेस्क्युको टोली पनि पठाइएको छ ।

क्याप्टेन प्रभाकर घिमिरेको फोन ट्र्याक गर्दा टिटी लेक आसपासमा लोकेसन पत्ता लागेकाले खोजी त्यतै केन्द्रित गरिएको छ । कास्कीको पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । १० बजेर २० मिनेटमा अवतरण हुनुपर्ने अल्फा इको ट्यांगो कल साइन भएको जहाज ११ बजिसक्दा पनि सम्पर्कमा आएको छैन ।

विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को-पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिए । उक्त जहाजमा १३ नेपाली, ४ भारतीयसहित २ अन्य देशका नागरिक थिए ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार एकपटक जोमसोम आकाशमा उडेको देखिएको जहाज धौलागिरि हिमालतर्फ फर्किएको र त्यसपछि सम्पर्कमा आएको छैन ।

Leave a Reply

Your email address will not be published.