मुस्ताङको थासाङमा आगो बलेको देखेपछि तारा एयर भएको आशंकामा सेनाको टोली हिँड्यो

समाचार

सम्पर्कविहीन भएको तारा एयरको जहाजको खोजीकार्य जारी रहेको छ । अहिले मुस्ताङको थासाङ गाउँपालिका – २ लाहुरकोट वरपर शंकास्पद वस्तु देखिएसँगै नेपाली सेनाको उद्धार टोली त्यसतर्फ गएको छ । यार्सा टिप्न गएकाहरूले उक्त क्षेत्रमा आगो बलेको देखेपछि खोज तथा उद्धार टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचनले दूरबिनबाट हेर्दा उक्त क्षेत्रमा आगो बलेको देखिएको बताए । स्थानीयहरुका अनुसार लाहुरकोटभन्दा माथितिर केही वस्तु देखिएको जस्तो थियो । तर, त्यो त यार्सा टिप्न गएकाहरूले टाँगेको टेन्ट रहेको छ । उनीहरूले त्यो भन्दा माथितिर आगो लागेको जस्तो देखेको बताएका छन् ।

आगो बलेको देखिएको क्षेत्रमा पुग्न २ ३ घन्टा लाग्ने र नेपाली सेनासहितको टोली परिचालन गरिएको छ । उक्त क्षेत्र मानापाथी हिमालको फेदमा पर्छ । त्यहाँ पुग्न हिँडेर तीन घन्टा लाग्छ ।

विमानस्थलका अनुसार जहाजमा १९ यात्रु थिए । चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा थिए । यसैगरी, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर पनि जहाजमा रहेको खुलेको छ ।

चालक दल तीन सदस्यसहित १६ नेपाली, चार भारतीय र दुई जर्मनी छन् । चालक दल तीन सदस्यसहित १६ नेपाली, चार भारतीय र दुई जर्मनी हुन् । पोखराबाट जोमसोम जाँदै गरेको विमान म्याग्दीको घोडेपानी क्षेत्रबाट विहान १० बजेर ७ मिनेटपछि सम्पर्कविहीन भएको थियो ।

यसैबिच तारा एयरले विज्ञप्ति जारी गर्दै हराइरहेको जहाज खोजी तथा उद्धारका लागि काठमाडौं, पोखरा र जोमसोम विमानस्थलमा हेलिकप्टरहरू स्ट्यान्डबाइ राखिएको जनाएको छ । मौसममा सुधार आएपछि खोजीकार्य पुनः सुरु गरिने तारा एयरले जनाएको छ ।

हराएको जहाजको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र तारा एयरको उद्धार टोली पनि स्थलमार्गबाट त्यसतर्फ गइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.