खानेपानी र ढलका लागि ४० अर्ब बजेट : कहाँ–कहाँ बन्नेछन् ठूला योजना

आर्थिक समाचार

काठमाडौं । सरकारले ‘राज्यको अभिभारा एक घर एक धारा’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्दै उपत्यकाको खानेपानीलाई सहज बनाउन मेलम्ची खानेपानीको पाइप विछ्याउन एक अर्ब ९२ करोड विनियोजन गरिएको पनि जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौं उपत्यकाका चार क्षेत्रमा पानी पोखरीको स्थापना गरिनेछ । काठमाडौं सिस्नेरी र ठोस्नेबाट खानेपानी आपूर्ती गर्न अध्ययन तथा प्रक्रिया अगाडि बढाइनेछ ।

यी क्षेत्रमा बहुउपयोगी पार्क तथा मनोरञ्जनातमक क्षेत्र समेत बनाइनेछ । विभिन्न सहरको ढल व्यवस्थापन गर्न २ अर्ब ४४ करोड समेत विनियोजन गरिएको छ ।खानेपानी आयोजनाका लागि मात्रै ३७ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री शर्माले जानकारी गराउनुभयो ।

स्वच्छ खानेपानीका लागि रु ३७ अर्ब ३५ करोड बजेट सरकारले देशभर स्वच्छ खानेपानीको व्यवस्थाका लागि रु ३७ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आज संसद्को संयुक्त बैठकमा पेश गर्नुभएको आर्थिक वर्ष २०७९/८० को बजेटमा देशभर स्वच्छ खानेपानीको पहुँच विस्तार गरिने उल्लेख छ ।सरकारले आगामी आर्थिक वर्षमा मेलम्चीको पानी पथान्तरणका लागि स्थायी एवं भरपर्दो व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ । गत आवमै मेलम्चीको पानी राजधानीमा आइपुगे पनि अझै भरपर्दो पथान्तरणको व्यवस्था नहुँदा स्थायीरूपमा काठमाडौँमा पानी आपूर्ति हुनसकेको छैन ।

हेडवक्र्सको काम नसकिँदा वर्षायामसँगै आउने बाढीले गर्न सक्ने क्षतिका कारण पानी बन्द हुने गरेको छ । गत वर्ष मेलम्ची आएको बाढीले मुहान क्षेत्रमा पुगेको क्षति पुनःनिर्माण गरी यस वर्ष चैत अन्तिम साता फेरि मेलम्चीको पानी सुन्दरीजल ल्याई राजधानीवासीका धारामा वितरण सुरु भएको छ ।यस वर्ष पनि वर्षा लागेसँगै सुरुङमा पानी बन्द गर्ने योजना खानेपानी मन्त्रालयले बनाएको छ । हाल मेलम्ची खोलाको १७ करोड ५० लाख लिटर पानी राजधानीमा वितरण भइरहेको छ ।

आगामी वर्षमा याङ्ग्री र लार्के खोलाको पानी राजधानी ल्याउन आवश्यक अध्ययन पूरा गरिने लक्ष्य पनि बजेटमा लिइएको छ । याङ्ग्री र लार्के खोलाको पानी पनि ल्याएपछि राजधानीमा दैनिक ५१ करोड लिटर पानी आउनेछ ।

याङ्ग्री र लार्केबाट पनि दैनिक १७–१७ करोड लिटर पानी राजधानी ल्याउने सरकारको योजना छ । काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधानका लागि राजधानी वरिपरिका स्रोतको अध्ययन भइरहेको खानेपानी मन्त्रालयले जनाएको छ । यी स्रोतबाट पनि केही अभाव पूर्ति गर्न सकिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.