केही गर्छु भन्नेलाई सरकारले सस्तोमा ५० वर्षसम्मका लागि जग्गा लिजमा दिने

आर्थिक समाचार

काठमाडौं । अब उद्योग सञ्चालनका लागि ५० वर्षसम्म जग्गा लिजमा दिइने भएको छ ।सरकारले आफ्नो बजेट जारी गर्दै निजी क्षेत्रको साझेदारीमा ज्ञानमा आधारित व्यावसाय उत्पादन गर्न सातै प्रदेशमा विजनेश इनोभेटर सेन्टरका लागि २६ करोड बजेट विनियोजन समेत गरेको हो ।

बजेट जारी गर्दै अर्थमन्त्री जनार्दन शर्माले अति विपन्न र अति सीमान्तकृत वर्गका लागि निजी क्षेत्रको सहभागीतामा रोजगारी सिर्जना गरिने पनि जानकारी दिनुभयो ।

उहाँका अनुसार सर्जकको बौद्धिक सम्पत्ति र प्रतिलिपी अधिकारको संरक्षणका लागि उपयुक्त कारबाही अघि बढाइनेछ । सरकारले भैरहवा एकीकृत जाँचचौकी निर्माणकार्य प्रारम्भ पनि गर्ने भएको छ ।

आगामी आवको बजेट : उद्योग प्रवद्र्धन गरिने सरकारले नेपाली उत्पादन वृद्धि, रोजगारी सिर्जनाका रु तीन अर्ब ४५ करोड बजेट विनियोजन गरेको छ ।

सरकारले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को राजस्व र व्यायको वार्षिक अनुमान (बजेट)मा सरकारी तथा सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगको व्यवस्था मिलाइने उल्लेख छ ।

अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुभएको बजेटमा पूर्वाधार निर्माण मेसिनरी औजार, नवप्रवर्तन प्रवद्र्धन गर्न प्रोत्साहन गरिने, युवा उद्यमी तथा वैदेशिक रोजगारीबाट फर्केकालाई सहुलियतपूर्ण कर्जा प्रदान गरिने र लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धनका लागि प्राथमिकता दिइने जनाइएको छ ।

यसैगरी बजेटले प्रदेशस्तरमा जडीबुटी उत्पादन प्रशोधन उद्योग स्थापना गर्ने, बहुमूल्य जडीबुटी उत्पादनमा प्रोत्साहन गर्ने र जडीबुटी खेतीको बिमा व्यवस्था गर्नुका साथै कपासखेती र रबरखेतीलाई प्रोत्साहन गर्नेसमेत व्यवस्था गरेको अर्थमन्त्री शर्माले बताउनुभयो ।

तुलनात्मक लाभ भएका स्वदेशी कच्चा पदार्थको ब्रान्डिङ गर्ने, नेपालबाट निकासी हुने वस्तुको गुणस्तर मापन गर्ने प्रयोगशालाको स्तरोन्नति गरिनेछ । निजी क्षेत्रमैत्री वातावरण निर्माण गरिनुका साथै उत्पादनमूलक उद्योग प्रवद्र्धन गरिने बजेटमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published.