अब इनर्जी ड्रिंक्सदेखि आयात हुने फलफूल महँगिने

आर्थिक समाचार

काठमाडौं । अब इनर्जी ड्रिंक्सदेखि आयात हुने फलफूल महँगिने भएको छ । सरकारले बजेटमा विभिन्न गरम मसलाजन्य खाद्यवस्तु, ड्राइफुड तथा जंकफुडसहित इनर्जी ड्रिंक्स लगायतका खाद्यवस्तुमा अन्तःशुल्क र भन्सार दर बढाउने निर्णय गरेको छ । सो कारण ड्रिंक्सदेखि आयात हुने फलफूल महँगिने भएको हो ।

सरकारले आर्थिक विधेयक २०७९ मार्फत नरिवलमा अन्तःशुल्कदर ५ बाट १५ प्रतिशत पुर्याएको छ । बदाम, काजु र पिस्ता पनि १५ प्रतिशत पुगेको छ । सुपारी (आरिक नट) मा अन्तशुल्ल्क प्रतिकिलो २५ बाट १०० रुपैयाँ पुगेको छ ।

मरिच र दालचिनी पनि अन्तःशुल्क दर १५ प्रतिशत कामय भएको छ । ससेज र मासुमा आधारित खाद्य पदार्थमा अन्तःशुल्क १० बाट १५ भएको छ ।चुइगममा १० बाट १५, गुलियो कोको धुलो ५ बाट १५, फ्रेन्च फ्राइमा १० बाट १५, केराउमा अन्तःशुल्क १० बाट १५ प्रतिशत पुगेको छ ।

सिमी, कुरिलो, जैतुन, गुलियो मकै, बाँसको तामा र अमिलो फलफूलको आयातमा लाग्ने अन्तःशुल्क पनि १० बाट १५ कायम भएको छ ।मम्फली बदाम, भुटेको चना, भुइँकटहर, नास्पाती लगायतका फलफूलमा पनि अन्तःशुल्कदर ५ बाट १५ प्रतिशत कामय भएको छ ।

दालमोठ, नमकिन, भुजियामा पनि अन्तःशुल्क ५ बाट बढाएर १५ प्रतिशत बनाइएको छ । सुर्तिरहित पान मसलामा प्रतिकेजी ८२१बाट ८२१ रुपैयाँ र सुर्तिरहित सुगन्धित सुपारी प्रतिकेजी २८१बाट ३५० रुपैयाँ कायम भएको छ । इनर्जी ड्रिंक्समा प्रतिलिटर १०० रुपैयाँ भन्सार शुल्क पुर्याइएको छ । अन्तःशुल्क लिटरमा रहेको ३६ बाट ५० रुपैयाँ बनाइएको छ ।

Leave a Reply

Your email address will not be published.