जहाज दुर्घटनास्थल पुगेका स्थानीय भन्छन्– ‘शव चिनिने अवस्थामा छैनन्’

समाचार

काठमाडौं । तारा एयरको दुर्घटनाग्रस्त जहाज भएको स्थानमा पुगेका सामाजिक अभियन्ता एवं होटल व्यवसायी इन्दुसिंह शेरचनले ‘कोही पनि जीवित अवस्थामा नभेटिएको’ बताएका छन् ।

उनले नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले अहिले शव संकलन गरिरहेको बताए ।उनका अनुसार पाइलटको मोबाइल फोन लोकसेन र विमानको जिपीएसको आधारमा त्यसक्षेत्रमा दुर्घटनाग्रस्त विमानको खोजी भइरहेको थियो । तर आइतबार अन्धकारका कारण खोजी सम्भव नभएको भन्दै नेपाली सेनाको खोजी तथा उद्धार टोली जोमसोम फर्किएको थियो ।

‘म, सुमित गौचन भन्ने भाइ र नेपाल प्रहरीका एकजना इन्स्पेक्टर यार्सागुम्बा खोज्ने किसानसँगै राति यहीँ बसेका थियौं,’ उनले भने, ‘बिहान माथि गएका किसानले देखेपछि खबर गरेका थिए, हामी त्यहाँ पुगेर प्रहरीलाई खबर गरेका हौं ।’

त्यही आधारमा भर्खरै नेपाली सेनाको टोली हेलिकोप्टरमार्फत घटनास्थलमा पुगेको उनले बताए । ‘शवहरु जलेको अवस्थामा छैनन्, क्षतविक्षत भए पनि अनुहार चिन्न सकिने अवस्थामा छ,’ उनले थपे, ‘यो गत २८ कात्तिकमा हिमपहिरो गएको मानापाथी हिमालको फेदीमा सानोशेरे भन्ने स्थान हो ।’

आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको थियो । पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको ट्वीनअटर जहाज बेलुकीसम्म पनि नभेटिएपछि खोजी कार्य स्थगित गरिएको थियो । सोमबार बिहानैबाट पुनः खोजी थालिएको थियो ।

नाइन एन–एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु सवार थिए । जहाजमा चालक दलका ३ सदस्य पनि थिए । जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । को पाइलट उत्सव पोख्रेल र विमान परिचारिका किस्मी थापा थिइन् ।जहाज दुर्घटनामा धनुषाको मिथिला नगरपालिका–११ लोटाका एकै परिवारका सात सदस्य पनि परेका छन् ।-न्युज कारखानाबाट

Leave a Reply

Your email address will not be published.