दुर्घटनामा परेका ४ भारतीय धनाढ्य परिवारका: बर्षमा १० दिन मात्र सबै एकसाथ बस्न अनुमति थियो

समाचार

काठमाडौं । उडानका क्रममा अचानक बेपत्ता भएको तारा एयरलाइन्सको विमानको भग्नावशेष भेटिएको छ ।नेपाली सेनाको खोज तथा उद्धार टोलीका अनुसार यो विमान दुर्घटनामा परेको स्थाल फेला परेको हो ।

उक्त विमानमा भारतीय नागरिक पनि सवार थिए । भारत, महाराष्ट्र ठाणेको त्रिपाठी परिवार पनि सवार थियो ।विमानमा सवार चारै भारतीय त्रिपाठी परिवारका थिए । जसमा श्रीमान्–श्रीमती र दुई छोराछोरी पनि थिए । ५४ वर्षीय अशोक त्रिपाठी आफ्नी ५१ वर्षीया श्रीमती वैभवी बान्देकर (त्रिपाठी) सँग अलग्गै बस्दै आएका थिए ।

दुवैको सम्बन्धविच्छेद हुन लागेको थियो । अदालतले सिंगो परिवारलाई वर्षमा १० दिन सँगै बिताउन अनुमति दिएको थियो ।२२ वर्षका छोरा धनुष त्रिपाठी र १८ वर्षीया छोरी ऋतिका त्रिपाठीले वर्षभर यी १० दिन पर्खने गरेका थिए ।

१० दिन मध्यको विदा मनाउन चारै जना यसपटक नेपाल आएका हुन् । दुर्भाग्यवश उनीहरु पनि आइतबार भएको विमान दुर्घटनामा परे । सो परिवार पोखराबाट मुक्तिनाथ मन्दिर दर्शन गर्न जाँदै थियो ।

विमान दुर्घटनाको जानकारी पाएपछि एक छिमेकीले भने, ‘यो धेरै दुर्भाग्यपूर्ण छ । हामी सबै स्तब्ध छौं ।’ त्रिपाठी परिवार बाहेक वैभवीको बुढी आमा पनि घरमा छिन् ।

सन्तान बेपत्ता भएपछि अहिले आमाको अवस्था नाजुक छ । केही दिनअघि उनको शल्यक्रिया भएको थियो । अहिले उनी घरमा एक्लै छिन् । छिमेकीहरू उनको सेवामा लागेका छन् ।

मृतकका आफन्तलाई नेपालस्थित भारतीय दूतावासमा सम्पर्क गर्न भनिएको छ । जानकारी अनुसार अशोकको यो यात्रामा उनका भाई (काकाका छोरा) पनि साथमा आउने तयारीमा थिए ।तर उनको नेपाल भ्रमण रद्द भयो । वैभवी मुम्बईको बान्द्रा–कुर्ला कम्प्लेक्समा रहेको एक निजी कम्पनीमा सफ्टवेयर इन्जिनियरको रूपमा काम गर्थिन् ।

अशोकको ओडिशामा एचआर कन्सल्टेन्सी फर्म छ । वैभवी आफ्नी आमा छोरा र छोरीसँग ठाणेको फ्ल्याटमा बस्थिन् । छोरा धनुष इन्जिनियरिङमा उत्तीर्ण भएका थिए भने छोरी ऋतिका स्कुलमा थिइन् ।अशोक ५ दाजुभाइमध्ये चौथो हुन् । उनका अधिकांश परिवार पुणेमा बस्छ । दुर्घटनाको जानकारी पाएलगत्तै पूरै परिवार राति नै ठाणे पुगेको छ ।

अशोकका बुबा जिल्ला न्यायाधीश थिए । उनको ११ वर्षअघि निधन भएको थियो । सन् २०२० मा उनकी आमाको निधन भयो । ठाणेको कपुरबावडी क्षेत्रमा रहेको माजिवाडा हाई राइज सोसाइटीमा परिवार बस्थ्यो । ठाणे प्रहरीले उनको परिवारका सदस्यलाई नेपालस्थित भारतीय दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।

नेपालस्थित भारतीय दूतावासले पनि आफ्नो आपतकालीन हटलाइन नम्बर ९७७–९८५१११०७०२१ उपलब्ध गराएको छ । कपुरबावडी प्रहरी चौकीका एक अधिकारीले भने, ‘घटनापछि नेपालस्थित भारतीय दूतावासले विमानमा सवार परिवारका चार सदस्यका बारेमा थप जानकारी लिन मुम्बई प्रहरीलाई सम्पर्क गरेको थियो ।

वैभवी बान्देकर (त्रिपाठी) को राहदानीमा लेखिएको ठेगाना मुम्बईको बोरिवली उपनगरको चिकुवाडी क्षेत्रको थियो ।’

जब मुम्बई प्रहरीको टोली बोरिवलीमा रहेको उनको फ्ल्याटमा पुग्यो, उनीहरूले त्यहाँ ताला लगाएको थाहा पाए । हाल भारतमा नभएका व्यक्तिलाई उनीहरुले त्यो फ्ल्याट भाडामा दिएको कुरा बाहिर आयो ।

त्यसपछि उनीहरुका छिमेकीले त्रिपाठी परिवार ठाणे शहर सरेको बताएपछि प्रहरीले त्यहाँ बस्ने उनीहरुका आफन्तलाई सम्पर्क गरेको थियो ।अशोकका भाइ कानन त्रिपाठीले भने, ‘अशोक सोनपुर आएपछि मसँगै नेपाल घुम्ने योजना बनाएका थिए । यो नेपाल भ्रमणको खबरले मलाई धेरै खुसी लाग्यो । तर, बीचमा मैले यात्रा रद्द गर्नुपर्यो ।

अशोक २६ मेमा मुम्बई पुगेका थिए । त्यो परिवार मुम्बईबाट नेपाल आएको थियो । अशोकका एक सहयोगीले भने, ‘सर (अशोक) मुम्बई गएको दिन उनले कहिले फर्कने भन्ने बताउनु भएन् । उनीहरूले मलाई घरको हेरचाह गर्न मात्र आग्रह गरे ।’

नेपाली सेनाको खोज तथा उद्धार टोलीले दुर्घटनास्थल पत्ता लगाउने क्रममा दुर्घटनाग्रस्त विमानको तस्विर पनि शेयर गरेको छ । मुस्ताङको सानोस्वेयर क्षेत्रमा विमानको भग्नावशेष फेला परेको हो । विमान पोखराबाट जोमसोमका लागि आइतबार बिहान ९ः५५ मा उडेको थियो ।

१०ः२० मा अवतरण गर्ने भनिएको थियो, तर अवतरण अघि एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्क बिच्छेद भयो । पोखराबाट बिहान ९ः५५ मिनेटमा जोमसोमका लागि उडेको विमान १०ः०७ बजेसम्म सम्पर्कमा थियो । ३ जना चालक दलका सदस्य सहित कुल २२ जना थिए । उक्त विमान ४३ वर्ष पुरानो भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.