मेयर बालेन साहले नेपाल भाषामा पनि लिए शपथ, सबैले माला लगाउँदा नलगाउँनुको कारण यस्तो छ !

राजनिति समाचार

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यहरुको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम सकिएको छ ।काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) सहित अन्य सदस्यहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।

आज बिहान राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई शपथ ग्रहण गराउनुभयो ।नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि नेपाल भाषामा पनि शपथको व्यहोरा वाचन गरिएको छ ।

मेयर साह शपथ ग्रहण समारोहमा चश्मा, दौरा सुरुवाल र भादगाउँले टोपी लगाएर सहभागी हुनुभयो । बालेनले शपथ ग्रहण गरेपछि उपमेयर सुनिता डंगोललाई शपथ ग्रहण गराउनुभयो ।

सुनिता डंगोलले पनि नेपाल भाषामा शपथ ग्रहण गर्नुभएको छ । त्यसपछि मेयर साहले वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराउनु भएको हो ।

फोहोर व्यवस्था नभएसम्म खादा–माला नलगाउने घोषणा ,मेयर बलेनले काठमाडौंको फोहोर व्यवस्था नभएसम्म खादा–माला नलगाउने र खुशी नमनाउने घोषणा गर्नुभएको छ ।

फोहोर व्यवस्थापन आफ्नो प्राथमिकता भएको भन्दै उहाँले भन्नुभयो, ‘हामीले गरेको पापको भोगी उहाँहरु हुनु भएको छ ।

हाम्रो फोहोरले गर्दा सिसडोलवासी क्यान्सर पीडित हुनु भएको छ, छालाको रोग भएको छ । त्यत्रो मान्छे मरिरहनु भएको छ । यो शोक मनाउने बेला हो ।’

उहाँले थप भन्नुभयो, ‘फोहोर व्यवस्थापन नभएसम्म, सिसडोलवासी स्वच्छ वातावरणमा बस्ने वातावरण नभएसम्म, बाँच्न पाउने अधिकार नभएसम्म अरु नगर्ने भनेका छौं ।’

यसका लागि समय कति लाग्ला भन्ने प्रश्नमा उहाँले प्रतिप्रश्न गर्नुभयो, ‘पत्रकारहरुले हाम्रो कुरा बुझ्न कति लाग्ला ?’ त्यसपछि उहाँले थप बोल्नुभएन ।

Leave a Reply

Your email address will not be published.