३० वर्षे अनुभवी पाइलट, हवाई सुरक्षाका वरिष्ठ प्रशिक्षक घिमिरे सँधैका लागि अस्ताए

समाचार

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको दुर्घटनाग्रस्त विमान ३० वर्षे अनुभवी पाइलट, हवाई सुरक्षाका वरिष्ठ प्रशिक्षकले उडाउनुभएको थियो ।विमान मुस्ताङको मानापाथी हिमालको फेदमा दुर्घटनाग्रस्त बन्यो । सवार सबैको निधन भएको आंशका गरिएको छ । अहिलेसम्म १६ जनाको शव फेला परेको छ । बाँकीको खोजी कार्य जारी छ ।

लामो समयदेखि विमान चलाउँदै आउनुभएका क्याप्टेन प्रभाकर घिमिरेले बिहान ९ः५५ बजे विमान पोखराबाट जोमसोमको लागि विमान भर्नुभएको थियो ।

३० वर्षदेखि विमान उडाउँदै आउनुभएका घिमिरे सहितको टोलीले आफू र अरुलाई बाँच्न र बचाँउन निक्कै प्रयास गरेको देखिन्छ । उहाँ प्रशिक्षक पाइलट हुनुहुन्छ । नेपाल नागरिक उड्यन प्राधिकरणमापनि उहाँले काम गर्नुभएको थियो । अनुभवी भएकै कारण प्रभाकरले यात्रुको चाप भएको दिन एकैदिन तीन–चारवटा उडान भर्ने गर्नुहुन्थ्यो । शनिबार पनि त्यही गर्नभयो ।

आइतबार पनि बिहानैदेखि जोमसोम जाने यात्रुहरु पोखरा एयरपोर्टमा जम्मा भइसकेका थिए।प्रभाकरले को–पाइलट उत्सव पोखरेललाई लिएर पहिलो उडान जोमसोम उडाउने तयारी गर्नुभयो । पोखराको मौसम राम्रो भए पनि जोमसोमको मौसम बदलिनसक्ने कुरा प्रभाकरलाई थाहा थियो।

किनभने, ३० वर्षदेखि उहाँले त्यस क्षेत्रमा उडान भर्नुभएको थियो ।कुनबेला कहाँको मौसम बदलिन्छ, कसरी रुट परिवर्तन गर्नुपर्छ, कुनबेला समस्या प¥यो भने फिर्ता हुने यी सबै कुराका क्याप्टेन प्रभाकर जानकार हुनुहुन्थ्यो ।निकै खारिएका र अनुभवी पाइलट मात्र होइन उहाँ, सफल उडान भर्ने क्याप्टेन पनि हुनुहुन्थ्यो । नागरिक उड्डयनको सुरक्षा क्षेत्रमा समेत काम गरिसक्नुभएका उहाँ नियम र कानुन पालना गरेर विमान उडाउने पाइलटका रुपमा नेपालका पाइलटमाझ परिचित हुनुहुन्ट ।

उहाँले धेरै पाइलटलाई तालिम र सुरक्षाको सीप पनि सिकाउनुभएको छ । तर, आइतबारको उडान भरेको केहीबेरमै प्रभाकरले उडाएको विमान वेपत्ता भयो। उहाँसहित ३ क्रु–मेम्बर र १९ यात्रु दुर्घटनामा पर्नुभयो ।

प्रभाकरसँग संगत गरेका नेपाल एयरलाइन्सका क्याप्टेन सुवास रिजाल प्रभाकरलाई सम्झँदै भन्नुहुन्छ, ‘निकै सोच विचार गरेर विमान उडाउने सफल पाइलट हो उहाँ।’

‘नेपालका पहाडी भेगहरुमा उडान भर्नु साँच्चिकै कठिन कार्य हो’, उद्धव घिमिरेले भन्नुभयो, ‘क्याप्टेन प्रभाकर निकै सोचविचार गरेर उडान गर्नुहुन्थ्यो। एकदमै अनुभवी, सुरक्षित उडान गर्न सक्ने उहाँको क्षमता थियो, उहाँले सधैँ मौसम हेरेर मात्र विमान उडाउनुहुन्थ्यो।’

नेपाल एयरलाइन्सका पाइलट रिजाल प्रभाकरलाई निकै मौसम विचार गर्ने पाइलट मान्नुहुन्छ ।‘मौसम नहेरी पेलेर चलाउन खोजे त्यसो नगर भनेर अरुलाई सिकाउने पाइलट हो उहाँ,’ रिजाल भन्छन्, ‘आफैँ पनि एकदमै मौसम विचार गर्ने, नियम कानून फलो गर्ने पाइलट हुनुहुन्थ्यो।’

आइतबार प्रभाकरका लागि जम्मा एउटा उडान जोमसोम भर्नु थियो। विहानको फ्लाइट गर्ने समय मौसमका कारण दुईघण्टा ढिला भयो। उहाँले विमानलाई ९ः५५ मा मात्र उडाउनुभयो ।

तर, विमान उडेको १२ मिनेटमै मुस्ताङको थासिङ गाउँपालिका माथि पुगेपछि कुहिरोमा फस्यो, प्रभाकरले केही फन्का लगाएर बादलबाट विमान निकाल्ने प्रयास गर्नुभएको देखिन्छ । तर सबै असफल भइदियो ।अनुभवी पाइलट प्रभाकरले उडाएको तारा एयरको नाइन एन एइटी कल साइन विमान डाँडामा ठक्कर खाएर दुर्घटनाग्रस्त भयो। र, यो दुर्घटनासँगै अनुभवी सिनियर पाइलट प्रभाकर पनि अस्ताउनुभएको छ ।

क्याप्टेन घिमिरेसहित कोपाइलट उत्सव पोखरेल र एयरहोस्टेज क्रिस्मी थापा हुनुहुन्थ्यो । मात्र २५ वर्षे कोपाइलट उत्सव पोख्रेलले उहाँसँग उडान भर्नुभएको थियो ।रुकुम पश्चिम चौरजहारी नगरपालिकाका पोख्रेल फिलिपिन्सबाट अध्ययन सकेर नेपाल आउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published.