२५ वर्षीय उत्सवका लागि बुबाको त्यो अन्तिम आशिर्वाद, दाजुपनि पाइलट नै बन्दै थिए

समाचार

काठमाडौं । पोखराबाट जोमसोम उडान भर्ने क्रममा तारा एयरको विमान दुर्घटनामा हामीले केही अमूल्य जीवन गुमाउन बाध्य भयौँ ।

विमान दुर्घटनापछि जीवित कोही भेटिएको छैन । सबैको पहिचारन भइसकेको छैन । तर आशा गर्ने ठाउँपनि छैन ।

उत्सव पोखरेल उक्त उडानको को–क्याप्टेन हुनुहुन्थ्यो । आइतबार बिहान जोमसोम उडान भर्ने बेलामा बुबा मणिरामले ‘शुभयात्रा बाबु’ भनेर आशिर्वाद दिनुभयो ।

जाजरकोट सदरमुकाममा रहनुभएका बाबुको त्यही बोली र आर्शिवाद नै अन्तिम भयो । शुभयात्रा हुन सकेन बुबा ।

विमान दुर्घटना भएको पत्ता लागेपछि मणिरामलगायत उत्सवको परिवार मात्रै होइन‚ गाउँ नै शोकमा डुबेको छ ।

३० अप्रिल २०२१ देखि उहाँ तारा एयरमा जोडिएर काम गर्न थाल्नुभएको थियो । उहाँले एक वर्षदेखि विमान उडाइरहनुभएको थियो ।

२५ वर्षीय उत्सव रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका ३ का स्थायी बासिन्दा हुनुहुन्छ । चौरजहारी क्षेत्रका पहिलो पाइलट उत्सवको निधनले चौरजहारीसहित सम्पूर्ण जिल्ला नै स्तब्ध बनेको छ ।

‘जे नहोस् भन्ने चाहेका थियौं, त्यही भयो,’ बाबु–छोराको टेलिफोन संवाद प्रत्यक्ष सुनेका नलगाड नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले भन्नुभयो, ‘लाउड स्पिकरमा बाबु–छोराको संवाद सुनेको हुँ ।

उत्सवले उडान छ भनेपछि मणिराम सरले शुभयात्रा बाबु भन्नुभयो बुबाको त्यो आशिर्वाद नै अन्तिम भइदियो ।’

मणिराम र मानबहादुर जाजरकोट सदरमुकामको एउटा होटलमा सँगै बस्नुभएको थियो ।

‘सानैदेखि पाइलट बन्ने योजना रहेको भाइ पाइलट पनि बन्यो’ नाताले उत्सवका दाइ पर्ने दिवश पोखरेलले भन्नुभयो, ‘तर‚ हामी सबैलाई रुवाएर कता उड्यो उड्यो ।’

उत्सवले फिलिपिन्सबाट पाइलट कोर्स गर्नुभएको थियो । १० कक्षासम्म चौरजहारी अध्ययन गर्नुभएका उहाँले प्लस टुको अध्ययन काठमाडौंमा गर्नुभयो । उत्सवले उडान गर्न थालेपछि उहाँका दाइ उमेश पनि पाइलट कोर्स गरिरहनुभएको छ ।

बुबा मणिराम र आमा उषाका दुई छोरा मात्रै हुनुहुन्छ । उमेश र उत्सव उहाँहरु एक अर्का एकदमै मिलेर रहनुभएका दाजुभाई हुनुहुन्थ्यो ।

मणिराम जाजरकोटको नलगाड नगरपालिकामा स्रोत व्यक्तिका रुपमा कार्यरत हुनुहुन्छ । भने आमा उषा दाङको एक विद्यालयमा अध्यापन गराउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published.