एकल आमाले दु:खले हुर्काएर एयर होस्टेस बनेकी कृष्मी, आकाशमा उडेर आकाशमै विलाइन् !

समाचार

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको विमानमा सवार २२ जनाको नै निधन भएको छ ।जहाजकी एयरहोस्टेस कृष्मी थापापनि यो देशले गुमाएको छ ।

सोमबार बिहान उक्त जहाज दुर्घटनामा परेको र जहाजमा रहेका सबैको मृत्यु भएको घोषणासँगै उहाँलाई पर्खिएर बसेकी आमाको मुटु भक्कानिएको छ ।

स्याङ्जा चापाकोटकी कृष्मीका बुवा थापा मगर हुनुहुन्छ भने आमा दलित परिवारकी सदस्य हुनुहुन्छ । कृष्मी जन्मिएपछि बुवाले आमालाई घरबाट निकालिदिएको पीडा साथमा छ ।कृष्मीलाई बोकेर आमा नजिकै रहेको माइत जानुभयो । माइतीमै कृष्मी हुर्किनुभयो । त्यहीबाट पढ्नुभयो ।

कृष्मीका मामाकी छोरी शर्मिला रुपालका अनुसार कक्षा १० सम्म गाउँमै पढेकी कृष्मीले प्लस टु स्याङ्जाको वालिङमा पूरा गर्नुभयो । त्यसपछि एयर होस्टेस बन्न पोखरा आएर आफ्नो सपना पूरा गर्नुभएको थियो ।

विगत ५ वर्षदेखि उहाँ तारा एयरमा एयर होस्टेसका रूपमा कार्यरत रहनुभएको थियो । तारा एयरमा काम गर्न थालेपछि परिवारको आर्थिक जिम्मा उहाँले नै सम्हाल्न थाल्नुभएको थियो । लुटिएको खुशी छोरीले आमालाई फर्काउनुभएको थियो ।

मामाघर बसेर हुर्केकी कृष्मीका लागि आमा र हजुरआमाको खुसीभन्दा माथि केही थिएन।

हजुरआमाले मादल बजाउँदै गीत गाएको भिडिओ क्लिप फेसबुकमा राख्दै उहाँले २०२१ नोभेम्बर ११ मा ‘हजुरले जीवनमा धेरै कुराको अनुभव गर्दै आउनुभएको छ त्यही अनुभवबाट हामीलाई सिकाउँदै, बुझाउँदै आउनु भएको छ, हजुरजस्तो आमा, सासूआमा र हजुरआमा (बुडीमम्मी) पाउनु हामी सबै परिवारको सौभाग्य हो, विशेषगरी म आफूले आफूलाई एकदम भाग्यशाली सम्झिएकी छु।

म सानो हुँदा हजुरको काखमा हुर्किन पाएँ हजुरको स्याहार–सुसार पाएँ जब ठूलो भए एउटा नारी भएँ त पनि कसरी निडर भएर जीवनमा संघर्ष, आत्मविश्वास, आत्मबल र हिम्मतका साथ अगाडि बढ्न सक्नुपर्छ। समय चलिराख्ने चिज हो हरेक औंसीपछि पूर्णिमा आउँछ त्यसैले हरेस कहिले नखानु म कुनै दिन कमजोर भए भनि हजुरको कुरालाई याद गर्छु ।

मेरो प्रेरणा र हिम्मतको स्रोत हो हजुर सधैंभरि यसरी हाँसेको देख्न पाम, हजुरको सेवा गर्न पाम र हजुरले जति खुसी माया दिनु भएको छ त्यसको हजार गुना दिन सकूम् यही मेरो जीवनको लक्ष्य हो लेख्नुभएको थियो ।

कृष्मीले परिवारका भाइबहिनीको शिक्षाको जिम्मा आफूले लिनुभएको थियो । मामाका छोरी शर्मिला र उहाँका भाइलाई पोखरा राखेर पढाइरहनुभएको थियो । अर्का भाइलाई काठमाडौंमा विज्ञान विषय पढाउँदै आउनुभएको थियो ।

नागरिकतामा कृष्मी थापा लेखिएको भएपनि उहाँको घरको नाम मनिषा हो । उहाँ साथी भाई र आफन्तका लागि कहिलै ननिभ्ने दियो जस्तै सम्झनामा आइरहने व्यक्ति हुनुहुन्थ्यो । तर अब कृष्मीले सबैलाई सम्झिनामा मात्र सीमित गराएर सँधैका लागि विदा हुनुभयो ।

Leave a Reply

Your email address will not be published.