मिरुनाको आरोपमा पक्राउ परेका भिक्षु रिहा, अभिनेत्रीले माफी नमागे मुद्धा हाल्ने

मनोरंजन समाचार

काठमाडौं । अभिनेत्री मिरुना मगरमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा तामाङ (लामा भिक्षु) धरौटीमा रिहा हुनुभएको छ ।

चौतर्फी रुपमा दबाब सिर्जना भएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले उहाँलाई तीन हजार धरौटीमा छोड्ने आदेश दिएको हो ।प्रशासनको आदेशमा बौद्ध भिक्षु तामाङलाई धरौटीमा रिहा गरिएको महानगरीय प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

आइतवार फिल्म ‘कबड्डी ४’ हेरेर फर्किएका दर्शकहरुसँग काठमाडौंको सिभिल मलमा सेल्फी खिच्ने क्रममा बौद्ध भिक्षु तामाङले पिठ्यूमा गलत नियतले छोएको भन्दै अभिनेत्री मिरुना मगरले गालामा थप्पड हान्नुभएको थियो ।

त्यहीँ तामाङले आफूबाट गल्ती भएको स्वीकार गर्दै माफी समेत माग्नुभएको थियो । तर त्यहाँ आफूले गल्ती नगरेपनि भीडले नै त्यसै माफी मगाएका कारण माफी माग्न बाध्य भएको उहाँको भनाई छ ।

उहाँले आफूले गल्ती नगरेको दावी गर्नुभएको छ । तर, पछि मिरुनाले तामाङलाई प्रहरीको जिम्मा लगाउनुभयो । आइतवारदेखि उहाँ प्रहरी हिरासतमा बस्नुभयो ।

मिरुनाले फुर्वालाई थप्पड हानेको भिडियो सामाजिक सञ्जालमा बाहिरिएपछि बौद्ध धर्मालम्बीहरुले मंगलवार चाबहिलस्थित केएल टावरको अगाडि ‘कबड्डी ४’को पोस्टर जलाउँदै प्रदर्शन गरेका छन् ।

हलमा टाँगिएको फिल्मको पोस्टर समेत च्यातेका थिए । मिरुनाले सार्वजनिक रुपमा फुर्वासँग माफी माग्नुपर्ने माग गर्दै केही तामाङ युवाहरुले चलचित्र विकास बोर्डमा पनि प्रदर्शन गरेका छन् ।

Leave a Reply

Your email address will not be published.