नेपाल छाडिन गायिका बीमाकुमारी दुराले, भन्छिन्, ‘म जस्तो रोएर हिँड्नु नपरोस्’

मनोरंजन

काठमाडौं । चर्चित लोकदोहोरी गायिका बीमाकुमारी दुराले नेपाल छाडेकी छन् । उनले अब बाँकी जीवन अमेरिकामा बिताउने निर्णय गर्दै गरेकी हुन् ।

केही दिनअघि उनी श्रीमानसहित अमेरिकाको न्युयोर्क पुगेकी छन् । दुरा दम्पती अब न्युयोर्कमा छोरीसँगै बस्ने निर्णयका साथ अमेरिका गएका हुन् । उनकी छोरी चार वर्षदेखि अमेरिकामा बस्दै आएकी छन् ।

अमेरिका उड्नुअघि टिकटकमा मर्मस्पर्शी भिडियो पोस्ट गर्दै उनले बाध्यताले देश छाडेर जान लागेको बताएकी छन् । उक्त भिडियोमा उनी भावुक देखिएकी छन् ।

भिडियोमा दुराले भनेकी छन्, ‘मेरै देशले जन्मायो । मेरै देशले हुर्कायो । मेरै देशको माटोले मलाई सिन्दूर पहिर्‍यायो । तर बाध्यता पनि यस्तो कि यस्तो कहिल्यै नहोस्, नेपाली जनताले सेवा पाउन् । म जस्तो रोएर हिँड्नु नपरोस् मेरो देशको जनताले । जय देश, जय नेपाल प्यारो छ मलाई । मलाई हुर्काइदियौ, फुर्काइदियौ । मलाई सात समुन्द्रसम्म घुमाइदियौ । धन्यवाद मेरो नेपाललाई । तर न्याय कहाँ छ भन्न चाहन्छु ।’

न्युयोर्क पुगेर पनि दुराले भिडियो पोस्ट गरेकी छन् ।केही समयअघि उनी घरमा घर बिक्रीमा ठगिएको समाचार बाहिरिएको थियो । गोंगबुमा आफूले निर्माण गरेको पाँचतले घर बिक्री गर्ने क्रममा उनी आफन्तबाटै ठगिएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.